२० मंसिर २०७६, शुक्रबार १३:१२   2560 पटक हेरिएको
image

काठमाडौँ । भारतको अघोषित नाकाबन्दीको बेला नेपाल–भारत सीमा नाकामा बसेर काठमाडौँको दानापानी बन्द गरिदिने अभिव्यक्तिले आलोचित राजेन्द्र महतोले अन्ततः काठमाडौँसँग पारिवारिक नाता कायम गरेका छन् ।उनको छोराको बिहे काठमाडौँको रैथाने नेवार समुदायकी चेलीसँग भएको हो । सो बिहेमा विभिन्न दलका नेता, पत्रकार, विदेशी कुटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको बताइएको छ । बिहेमा सहभागी भएका संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ‘बिहे अर्थपूर्ण भएको’ टिप्पणी गरेका छन् । ‘राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाडौँकी सुश्री पलिशा तुलाधरका साथ सुसम्पन्न । शुभविवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । काठमाडौँ डिल्लीबजारका प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधारसँग महतोको छोरा राघवेन्द्र महतोको बिहीबार बिहे भएको हो । काठमाडौंको एक होटलमा मैथिली परम्परा अनुसार भएको बिहेलाई सामाजिक परिवर्तनको क्षेत्रमा महतोले लिएको यो ठूलो कदम मानिएको छ । विद्रोही मधेशी नेताको छवि बनाएका महतोले पहाडी समुदायमा छोराको बिहे गर्नु निकै साहसिक काम भएको विश्लेषण भइरहेको छ । संयोजक महतोजस्तो व्यक्तिले काठमाडौँसँग पारिवारिक सम्बन्ध कायम गरेपछि नेपाली राजनीतिमा राष्ट्रिय एकताको ठूलो सन्देश जाने विश्लेषकहरु बताउँछन् । राघवेन्द्र र पलिशाको चिनजान पहिलादेखि नै थियो । खुमलटारस्थित एआइटी कलेजमा सँगै पढ्दा दुईजनाको बिचमा चिनजान भएको थियो । त्यही चिनजान प्रेममा परिवर्तन भयो । र, पारिवारिक सहमतिमा दुईजनाको बिचमा बिहे भएको बताइएको छ । पलिशा अनलाइन कम्पनी ‘दराज’मा कार्यरत छिन् भने राघवेन्द्र फोहर मैलाको क्षेत्रमा काम गर्ने डोको रिसाइकलरका सञ्चालक हुन् । दुवैजनाले एमबीए गरेका छन् । 

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट