१२ असार २०७८, शनिबार १८:२९   128 पटक हेरिएको
image

यति बेला सामाजिक सञ्जालमा रुपा सुनार र सरस्वती प्रधान प्रकरण छाएको हो । उनीहरूको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा चर्को बहस नै सुरु भएको छ ।यही विवाद चलिरहेको बेला सरस्वती प्रधानको घरमा ५ वर्ष भाडामा बसेका अजय शाहले सरस्वती प्रधानको बचाउ गर्दै स्ट्याटस लेखेका छन् । ५ वर्षसम्म सरस्वतीको घरमा बस्दा पनि आफूले जातीय विभेद नभोगेको भन्दै उनले प्रधानको बचाउ गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व सगरमाथा टेलिभिजनकर्मी एवं अहिले अप्पन टिभी (जनकपुरबाट संचालन भैरहेको टेलिभिजन) का सम्पादक रहेका शाहले लेखेको स्ट्याटस जस्ताको त्यस्तै :करिब पाँच वर्ष सरस्वती प्रधानको घरमा बसेको अनुभवका आधारमा भन्छु, उहाँले जातीय विभेद गरेको मेरो मनले मान्दैन ।दुई दशकभन्दा बढी समयको काठमाडौँ बसाइँका क्रममा विविध कारणले कोठा सर्ने क्रम चली नै रह्यो । यस अवधिमा मैले ८ पटकसम्म कोठा परिवर्तन गरेँ ।यस क्रममा २०६८ तिर कोठा खोज्न म बबरमहलतिर पुगेँ । कार्य थलो सगरमाथा टेलिभिजनको १–२ किलोमिटरको रेसियोमा कोठा खोज्ने अभियान थालियो । कोठा खोज्दै जाँदा सरस्वती प्रधानको घरमा पुगेँ । मिजासिलो स्वभावकी उहाँले मेरो जात र धर्म सोध्नु नै भएन, सहजै कोठा भाडामा दिनुभयो ।पाँच वर्षको बसाइँका क्रममा मैले सरस्वती प्रधान र उहाँको परिवारबाट कहिल्यै कुनै समस्या भोग्नुपरेन, न त कुनै विभेदको आभास भयो । बरु कुनै समस्या पर्दा प्रधान परिवारले भरथेग सहयोग नै गर्दथ्यो । अझ हुर्किदै गरेको मेरो छोरोको हेरविचारमा प्रधान परिवारको योगदान अतुलनीय र अविस्मरणीय छ ।अब मुख्य कुरा, नेपालमा दलित जातिसँग मात्र होइन मुस्लिमसँग पनि छुवाछूत हुने गरेको छ । यद्यपि, अहिले दलित र मुस्लिमसँग हुने छुवाछूत व्यापक न्यूनीकरणतर्फ छ । यो कुरा सबैले महसुस गरेकै हुनुपर्छ । सानो छँदा त ‘दलित र मुस्लिमले छोएको नखानू’ सम्मका कुरा सुन्थेँ । यहाँ मुस्लिमको प्रसङ्ग किन ल्याएको हो भन्दा सरस्वती प्रधानको घरको तल्लो फ्ल्याटमा तीन कोठामध्ये दुई वटा मैले लिएको थिएँ भने एउटा कोठा मुस्लिम समुदायका व्यक्तिलाई दिइएको थियो ।तर, त्यहाँ बसुन्जेल अर्को धर्मका व्यक्तिसँग कुनै किसिमको भेदभाव वा छुवाछूत व्यवहार नगरेकी सरस्वती प्रधानले आफ्नै धर्मकी रूपा सुनारलाई जातकै आधारमा कोठा नदिएको कुरा मेरो मनले मान्दैन ।सार्वजनिक भएको अडियो सुन्दा रूपा सुनारलाई कोठा दिने कुरा सरस्वती प्रधानकी बुढीमालाई मन नपरेको बुझियो । अब एउटी बुढी आमा अर्थात् पुरानो पुस्तालाई ‘छुवाछूत व्यवहार नगर’ भनेर ज्ञान दिने आँट नेपालको संविधान, कानुन, समाज र परिवारसँग छ ?धेरै टाढा जानु परेन, हामीले आ–आफ्नै परिवारका पुरानो पुस्ताका सदस्यहरूको मान्यतालाई एक पटक स्मरण गरौँ त ! उनीहरूको सोच कस्तो थियो/छ ? के उनीहरूले वर्षदेखिको जातीय विभेदयुक्त मान्यताहरू पूर्ण रूपमा छाडि सके ?त्यसैले, जातीय विभेद पुस्तान्तरणसँगै न्यूनीकरण हुने हो, रातारात होइन भन्ने कुरा हामीले बुझ्न सक्नुपर्छ । सकारात्मक कुरा के छ भने नयाँ पुस्तामा यस्तो सोच छैन, हुनु हुँदैन । यसलाई नै पहिलो र महत्त्वपूर्ण उपलब्धि मानेर समयसँगै हिडौं ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट