१० जेष्ठ २०७६, शुक्रबार २२:१२   4997 पटक हेरिएको
image

१० जेठ, काठमाडौं ।आफ्नो पहिलो कार्यकालमा ४ पटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दोस्रो कार्यकालको प्रारम्भमै नेपाल भ्रमणको निम्तो दिने तयारी भएको छ ।भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेल सेवाको उद्घाटनका लागि भारतीय प्रधानमन्त्री मोदीलाई आमन्त्रण गर्ने तयारी नेपाल सरकारले अघि बढाएको हो ।लोकसभा निर्वाचनमा सन् २०१४ को भन्दा धेरै सिट जितेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तयारीमा छन् । बहुमतका लागि २७२ सिट चाहिनेमा भारतीय जनता पार्टी एक्लैले ३०३ सिट जितेको छ । उसका गठबन्धन सहकर्मीले जितेको सिट जोड्दा ३५० भन्दा माथि पुग्छ ।भाजपा नेतृत्वको एनडीए गठबन्धन मोदीलाई प्रधानमन्त्रीको रूपमा अघि सार्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो । प्रचण्ड बहुमत प्राप्त गरेपछि मोदीले सम्भवतः केही दिनमै दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिनेछन् ।जनकपुर–जयनगर रेल सेवा उद्घाटनका लागि मोदीलाई आमन्त्रण गर्ने तयारी भएको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए ।‘जनकपुरदेखि जयनगरसम्म सञ्चालन हुने रेलको उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने तयारी सहित हामी अघि बढिरहेका छौं,’ मन्त्री महासेठले भने ।भारतीय दूतावासमार्फत मोदीलाई पत्राचार गर्ने तयारी भएको उनले जानकारी दिए ।‘नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीले संयुक्त रूपमा रेललाई हरियो झण्डा देखाएर उद्घाटन गर्ने तयारीका साथ हामी अघि बढिरहेका छौं,’ मन्त्री महासेठले भने, ‘त्यसका लागि नेपाल सरकारले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत पत्राचार गर्ने मन्त्रालयले तयारी समेत गरेको छ ।’नेपाल सरकारले भारतीय रेल कम्पनी कोनकर्णसँग ८५ करोड रुपैयाँमा दुईवटा रेल किन्नका लागि सम्झौता गरेर रुपैयाँ समेत पठाइसकेको मन्त्री महासेठले बताए ।९० दिनभित्र रेल पठाइदिने सम्झौता भएको भन्दै उनले ६० देखि ७० दिनभित्र जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने बताए ।५/५ वटा बोगी (डिब्बा)सहित इञ्जिन सहितको रेल किन्ने नेपाल सरकारले भारतसँग सम्झौता गरेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार ५ वटा बोगी सहितको एक सेटको रेल इन्जिनमा एक पटकमा कम्तिमा पनि १ हजार यात्रुले यात्रा गर्न सक्नेछन् ।विगतमा पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीले संयुक्त रूपमा रेलको उद्घाटन गर्ने तयारी भएको थियो । तर भारत सरकारले आफ्नो रेल उद्घाटन गरेर फिर्ता लैजाने कुरा भएपछि नेपाल सरकारले मानेको थिएन । नेपाल सरकारले आफैँ रेल किनेर मात्र सञ्चालनमा ल्याउने भनेपछि कार्यक्रम स्थागित भएको थियो ।स्रोतका अनुसार भारतका प्रधानमन्त्री मोदीको पनि रेल सेवा उदघाटन गर्ने तीव्र चाहना रहेको थियो । लोक सभा चुनावका लागि सीमावर्ती क्षेत्रमा त्यसको राम्रो सन्देश जान सक्ने सम्भावनाका कारण पनि मोदीले दोस्रोपटक जनकपुर भ्रमण गर्न चाहेको चर्चा भएको थियो ।पहिलो जनकपुर भ्रमणमा मोदीले जनकपुरदेखि भारतको अयोध्यासम्म बस सेवा सञ्चालनका लागि यस अघि पनि नेपालको प्रधानमन्त्री ओली र भारतको प्रधानमन्त्री मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर उदघाटन गरेका थिए । तर त्यो बस सेवा हालसम्म सञ्चालनमा आउन सकेको छैन ।मोदीले जनकपुर आउँदा जनकपुरका लागि १ अर्ब रुपैयाँ भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका थिए । नेपाल सरकारको ढिलासुस्ती र आन्तरिक कारणले गर्दा भारत सरकारले पठाइसकेको उक्त अनुदान रकम खर्च गर्नका लागि ठोस योजना बन्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट