रास्वपा सभापति रवि लामिछाने भोलि कपिलवस्तुमा: ‘घन्टी अभिवादन’ मार्फत नागरिकसँग जोडिने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने भोलि शनिबार कपिलवस्तुका विभिन्न स्थानमा आयोजना हुने विशेष जनभेटघाट कार्यक्रममा सहभागी हुनुहुने भएको छ। पार्टीले सञ्चालन गरिरहेको देशव्यापी ‘घन्टी अभिवादन कार्यक्रम’ लाई थप प्रभावकारी बनाउन र स्थानीय स्तरमा पार्टीको उपस्थितिलाई मजबुत पार्न उहाँ कपिलवस्तु आउन लाग्नुभएको हो। पार्टी स्रोतका अनुसार सभापति लामिछानेले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका मुख्य–मुख्य केन्द्रहरूमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने तालिका तय गरिएको छ। यस भ्रमणले कपिलवस्तुका रास्वपा कार्यकर्ता र शुभचिन्तकहरूमा नयाँ उत्साह थपेको छ।
पार्टीका नेता बालकृष्ण पाण्डेले दिनुभएको जानकारी अनुसार सभापति लामिछानेले जिल्लाका जितपुर, गोरुसिङ्गे, चन्द्रौटा, बहादुरगंज र महाराजगंज लगायतका प्रमुख व्यापारिक तथा राजनीतिक केन्द्रहरूमा पुगेर जनतासँग संवाद गर्नुहुनेछ। यी कार्यक्रमहरूमा सभापति लामिछानेले स्थानीयका समस्या, गुनासा र सुझावहरूलाई प्रत्यक्ष रूपमा सुन्नुका साथै पार्टीको आगामी राजनीतिक दिशा र भावी योजनाबारे प्रष्ट पार्नुहुनेछ। नेता पाण्डेले जिल्लावासीसँगको यो प्रत्यक्ष संवादले जनस्तरमा पार्टीको धारणा पुर्याउन र स्थानीय समस्या बुझ्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
लामिछानेको भ्रमणलाई लक्षित गर्दै कपिलवस्तुका स्थानीय कार्यकर्ताहरूले आफ्नो तयारीलाई निकै तीव्र पारेका छन्। जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गर्ने, प्रचारप्रसार गर्ने र कार्यक्रम स्थलको व्यवस्थापन गर्ने कार्यमा रास्वपाका स्वयंसेवकहरू सक्रियतापूर्वक खटिएका छन्। पछिल्लो समय राष्ट्रिय राजनीतिमा रास्वपाको भूमिका र सभापति लामिछानेको सक्रियतालाई लिएर सर्वसाधारणमा पनि निकै चासो देखिएको छ। समाचार तयार पार्दासम्म स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक सम्पूर्ण तयारीहरू पूरा भइसकेको जानकारी दिइएको छ।














