यशोधरामा कांग्रेसको घरदैलो: किसानका समस्या सुन्दै आचार्यको समाधान प्रतिबद्धता

कपिलवस्तु, फागुन ६ गते ।

नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ ले आज यशोधरा गाउँपालिका वडा नं. २ गौरी र वडा नं. ३ बसन्तपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्य नेतृत्वको टोलीले घरघरमा पुगेर मतदातासँग भेटघाट गर्दै पार्टीका नीति, कार्यक्रम तथा विकासका प्राथमिकताबारे जानकारी गराएको थियो।

घरदैलोका क्रममा स्थानीयवासीले विशेषगरी सडक, सिँचाइ सुविधा तथा रासायनिक मलको अभावबारे ध्यानाकर्षण गराएका थिए। समयमै सिँचाइ नहुँदा खेतीपाती प्रभावित भएको र मल अभावका कारण उत्पादन घट्दै गएको गुनासो किसानहरूले उम्मेदवारसमक्ष राखेका थिए।

यस सन्दर्भमा उम्मेदवार आचार्यले कृषकका समस्या गम्भीर र यथार्थपरक रहेको उल्लेख गर्दै आगामी दिनमा सडक तथा सिँचाइ पूर्वाधार विस्तार र मल आपूर्तिको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन सडक तथा सिँचाइ योजना अघि बढाउने र किसानलाई समयमै सहुलियत दरमा मल उपलब्ध गराउने पहल गर्ने बताउनुभयो। कृषि उत्पादन वृद्धि, लागत घटाउने र किसानको आयस्तर उकास्ने दिशामा ठोस कदम चालिने उहाँको भनाइ थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, क्षेत्रीय सभापति (ख) गिर्जेशकुमार पाण्डेय, पूर्व जिल्ला उपसभापति राम आशिष पाण्डेय, पूर्व प्रदेश राज्यमन्त्री रिना नेपाल, प्रदेश सदस्य प्रेमलता भट्ट, माया ज्ञवाली, यशोधरा गाउँपालिका सभापति दिनेश कुमार पाण्डेय, महाधिवेशन प्रतिनिधि गोपी कृष्ण शर्मा लगायत इकाई सभापति तथा स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ