सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा
कपिलवस्तु ।
नेपाली काँग्रेसका पार्टी सभापति गगन कुमार थापाले कपिलवस्तुले नेपाली काँग्रेसप्रति सधैँ माया र विश्वास देखाएको बताउनुभएको छ ।
गोरुसिंगेमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले अघिल्लो निर्वाचनमा कपिलवस्तुका मतदाताले सुरेन्द्रराज आचार्य लाई विजयी गराएर संसद्मा पठाएको स्मरण गर्नुभयो । छोटो समयका लागि मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका आचार्यसँग आफूले नजिकबाट काम गर्ने अवसर पाएको उल्लेख गर्दै सभापति थापाले उहाँको कार्यशैलीको प्रशंसा गर्नुभयो ।
“गठबन्धनको सरकारमा थोरै स्रोत–साधन भएको मन्त्रालयको जिम्मेवारी उहाँले सम्हाल्नुभएको थियो,” सभापति थापाले भन्नुभयो, “त्यो मन्त्रालय पहिले धेरै दाग लागेको मन्त्रालयका रूपमा चिनिन्थ्यो । धेरै मानिस त्यहाँ गएर चुकेका थिए ।”
तर सीमित स्रोत–साधनका बाबजुद पनि आचार्यले इमान्दारीपूर्वक काम गर्दै मन्त्रालयबाट कुनै दाग नलागी बाहिरिन सफल भएको उहाँको दाबी थियो । “कहीँ कतै लोभ–लालच नराखी, सक्दो मेहनत गरेर, आफ्नो क्षेत्रको सम्मान राख्दै उहाँले काम गर्नुभयो,” सभापति थापाले भन्नुभयो ।
उहाँले कपिलवस्तुका मतदाताले फेरि एकपटक इमान्दार र मेहनती नेतृत्वलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा काँग्रेसका नेता सुधाकर पाण्डेय, कमलेश शर्मा, पुर्वमन्त्री सहसराम यादव लगायत कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।














