घाइतेको उपचार खर्च बेहोर्ने घोषणा गरेका शर्मा गायब

घाइतेको उपचार खर्च बेहोर्ने घोषणा गरेका शर्मा गायब

कपिलवस्तु, चैत १३ — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर ६ बुटाहनिया चोक क्षेत्रमा चैत ७ गते भएको प्रहरी–स्थानीय झडपमा गोली लागेर घाइते भएका युवकको उपचार खर्च बेहोर्ने घोषणा गरेका उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्मा अहिले सम्पर्कविहीन जस्तै बनेका छन्।
उक्त दिन जिगिना–बुटाहनिया चोक क्षेत्रमा नेपाल प्रहरी र स्थानीयबीच भएको झडपका क्रममा रामतिरथ प्रसाद यादवका नाति अरुण यादवको पेटमा प्रहरीको गोली लागेको थियो। घटनामा अरुणसहित चार जना घाइते भएका थिए। घटनापछि चैत ७ र ८ गते कपिलवस्तु जिल्ला तनावग्रस्त बनेको थियो। विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गरिएको थियो भने प्रहरीले ठाउँ–ठाउँमा सुरक्षा कडा पारेको थियो।
घटनापछि घाइते तीन जनाको उपचार भैरहवा मेडिकल कलेजमा भइरहेको छ भने अरुण यादवको अवस्था गम्भीर भएपछि चिकित्सकले चितवन मेडिकल कलेजमा रिफर गरेका थिए। पेटमा गोली लाग्दा उनको मृगौलामा समेत असर परेको बताइएको छ।
घटना सार्वजनिक भएपछि कृष्णनगरका विवादित उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत अरुण यादवको सम्पूर्ण उपचार खर्च आफैंले बेहोर्ने घोषणा गरेका थिए। उक्त घोषणाले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको थियो र धेरैले उनको प्रशंसा गरेका थिए।
तर उपचार सुरु भएको एक साता बितिसक्दा पनि शर्माले अहिलेसम्म कुनै आर्थिक सहयोग नगरेको पीडित परिवारको गुनासो छ। चितवन मेडिकल कलेजमा अरुणको उपचारमा हालसम्म ६ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ।
पीडित परिवारका सदस्य रामतिरथ यादवका अनुसार घोषणा गरेपछि शर्माले कुनै सहयोग नगरेको मात्र होइन, सम्पर्क समेत नगरेको आरोप छ।
“उहाँले फोन पनि गर्नुभएन, न त बिरामी भेट्न आउनुभयो। फेसबुकमा लेखेर चर्चा कमाउनुभयो तर व्यवहारमा केही देखिएन,” यादवले गुनासो गरे।
उपचार खर्च बेहोर्ने भन्दै सामाजिक सञ्जालमा वाहवाही कमाएका शर्मा अहिले भने न आर्थिक सहयोग गरेका छन्, न पीडित परिवारसँग सम्पर्कमै छन्। यस घटनाले सामाजिक सञ्जालमा सहानुभूति बटुल्न गरिने घोषणाको विश्वसनीयतामाथि समेत प्रश्न उठाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ