राप्रपाको खण्डन: “एमाले प्रवेश” को समाचार भ्रामक, लालपुर्जा दिने प्रलोभनमा कार्यकर्ता तानिएको आरोप

राप्रपाको खण्डन: “एमाले प्रवेश” को समाचार भ्रामक, लालपुर्जा दिने प्रलोभनमा कार्यकर्ता तानिएको आरोप
नवराज पौडेल कपिलवस्तु ,

नेकपा (एमाले) बाट यहि साउन १७ गते शनिबार  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ठूलो संख्यामा कार्यकर्ता पार्टी प्रवेश गरेकाे समाचारलाई लिएर राप्रपा शिवराज नगर समितिले गम्भीर आपत्ति जनाएको छ। समितिले उक्त समाचार पूर्णतः भ्रामक, उद्देश्यप्रेरित र सस्तो प्रचारको हिस्सा भएको भन्दै कडा खण्डन गरेको हो।

राप्रपा नगर अध्यक्ष चित्रबहादुर के.सी. (शंकर) को हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जाल र केही स्थानीय माध्यममा प्रकाशित भएको एमालेको पार्टी प्रवेश कार्यक्रममा राप्रपाबाट उल्लेख्य संख्यामा कार्यकर्ता प्रवेश गरेको भनिएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यथार्थमा त्यस्ता व्यक्तिहरू राप्रपाका न स्थायी सदस्य हुन् न त सक्रिय कार्यकर्ता नै।

अध्यक्ष के.सी.ले विज्ञप्तिमार्फत आरोप लगाएका छन् कि केही व्यक्तिहरूलाई “लालपुर्जा दिलाइदिन्छौं” भन्ने प्रलोभन देखाएर जबर्जस्ती एमाले प्रवेश कार्यक्रममा ल्याइएको हो। एक राप्रपा सदस्यका अनुसार, उनीहरूलाई विकास, रोजगारी र लालपुर्जा वितरणजस्ता आकर्षक प्रलोभन देखाएर पार्टी फेर्न दबाब दिइएको थियो।
यस्तो अवस्थालाई ‘राप्रपाबाट सामूहिक पार्टी प्रवेश’ भनेर प्रचार गर्नु नियोजित भ्रम सिर्जना गर्ने प्रयास भएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस्ता भ्रामक समाचारले पार्टीको छवि बिगार्ने काम मात्र गर्छ, त्यसैले यस्ता कार्य नगर्न र नगराउन सबैमा सचेतना गराइन्छ।
स्थानीय राजनीतिक विश्लेषकहरू भन्छन्, आगामी निर्वाचन र संगठन विस्तारको दौडमा यस्ता “भ्रम सिर्जना गर्ने” रणनीति सामान्य हुँदै गएको छ। सस्तो लोकप्रियता कमाउन र संगठनगत हैसियत देखाउन केही दलहरूले यस्ता खबर फैलाउने गरेको आरोप पटक–पटक लाग्दै आएका छन्।
विज्ञप्तिको अन्त्यमा नगर समिति अध्यक्ष के.सी.ले भविष्यमा यस्ता भ्रमपूर्ण प्रचारविरुद्ध कानुनी उपचार खोजिने चेतावनी दिएका छन्। उनले पार्टी कार्यकर्तालाई संगठनप्रति प्रतिबद्ध रहन आह्वान गर्दै सत्यतथ्यको पक्षमा उभिन अनुरोध गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ