मगर परिवारका चार सन्तानको प्रेरणादायी सफलता : समुदायका लागि गौरव
पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–४, कोलडाँडा, सत्यवती निवासी स्वर्गीय दल बहादुर सुनारी र दिलमाया सुनारीका चार सन्तानले आ–आफ्नो क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै मगर समुदायको नाम उजागर गरेका छन्। सामान्य पारिवारिक पृष्ठभूमिबाट अघि बढेका तीन दिदीबहिनी र एक भाइको संघर्षपूर्ण यात्रा आजका युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।
परिवारकी जेठी छोरी वर्षा सुनारी मगर हाल बुटवलस्थित एनआईसी एशिया बैंकको शाखामा अधिकृत स्तरको पदमा कार्यरत छिन्। बैंकिङ क्षेत्रमा इमान्दारिता, दक्षता र जिम्मेवारीका साथ सेवा दिँदै आएकी उनले गृहिणी तथा दुई सन्तानकी आमाको भूमिकासमेत सन्तुलित ढंगले निर्वाह गरिरहेकी छन्। उनको सफलताले मगर समुदायका छोरीहरू पनि वित्तीय क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुग्न सक्षम रहेको सन्देश दिएको छ।
माइली बहिनी भिमीसरा सुनारी शिक्षा क्षेत्रमा सक्रिय छिन्। उनी हाल तिनाउ–४ गोठादीस्थित पृथ्वी प्रकाश माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेकी छन्। उनको नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विभिन्न सुधारका पहलहरू अघि बढाइएका छन्। पारिवारिक जिम्मेवारीसँगै शिक्षामार्फत समाज रूपान्तरणमा उनको योगदान प्रशंसनीय मानिएको छ।
त्यस्तै, भाइ तिलक सुनारीले बुटवल टेक्निकल इन्स्टिच्युटबाट सब–ओभरसियर अध्ययन पूरा गरी नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक क्षेत्रमा लामो समय काम गरेका थिए। बुवा–आमाको निधनपछि पारिवारिक जिम्मेवारी थपिँदै जाँदा उनी हाल रोजगारीका लागि युरोपमा रहेर परिवारको आर्थिक सुदृढीकरणमा योगदान पुर्याइरहेका छन्। विदेशमा रहे पनि समुदाय र परिवारप्रतिको उत्तरदायित्व निरन्तर निभाइरहेको परिवारजनले बताएका छन्।
परिवारकी कान्छी छोरी मुना सुनारी उद्यमशीलतामा सक्रिय छिन्। उनले बुटवल–४, अमरपथमा ‘ड्रिम द बुटिक’ सञ्चालन गर्दै स्थानीय स्तरमा सफल व्यवसाय अघि बढाएकी छन्। उनको व्यवसायबाट पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, जसले स्थानीय आर्थिक गतिविधिमा सकारात्मक टेवा पुगेको छ।
आर्थिक अभाव, सीमित स्रोत र सामाजिक चुनौतीका बाबजुद निरन्तर परिश्रम, लगनशीलता र आत्मविश्वासका बलमा चारै दाजुभाइ–दिदीबहिनीले सफलता हासिल गरेका हुन्। परिवारका सदस्यका अनुसार शिक्षा, सीप र परिवारको साथ–समर्थन नै उनीहरूको सफलताको आधार बनेको हो।
उनीहरूको संघर्ष र उपलब्धिले मगर समुदाय मात्र होइन, समग्र समाजलाई पनि सकारात्मक सन्देश दिएको छ— शिक्षा, सीप र निरन्तर मिहिनेत नै सफलताको मूल आधार हो।














