कपिलवस्तुको विजयनगरमा चुनाव प्रचार–प्रसार कार्यालय स्थापना,राजमो लोकप्रिय बन्दै : अदै
नवराज पौडेल कपिलवस्तु
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा आज राष्ट्रिय जनमोर्चाले पालिकास्तरीय चुनाव प्रचार–प्रसार कार्यालय स्थापना गरेको छ। कार्यालयको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला सचिव तथा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केर सिंह अदैले राष्ट्रिय जनमोर्चा जनतामाझ दिनप्रतिदिन लोकप्रिय बन्दै गएको धारणा व्यक्त गर्नुभयो।
उहाँका अनुसार सधैं राष्ट्र र राष्ट्रियतालाई प्राथमिकतामा राखेर संघर्ष गर्नु, संघीयता खारेजी र एमसिसी खारेजको मागमा निरन्तर संघर्ष गर्नु, साथै भ्रष्टाचारबाट टाढा रहनु नै पार्टी लोकप्रिय हुनुका मुख्य कारण हुन्। “हामीमाथि जनताले औँला उठाउने कुनै ठाउँ छैन,” उहाँले भन्नुभयो। साथै उहाँले कार्यकर्ताहरूलाई निर्धक्क भएर चुनाव प्रचार–प्रसारमा लाग्न आग्रह गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका समानुपातिक तर्फका उम्मेदवार कर्मराज चौधरीले राष्ट्रिय जनमोर्चा मात्र सच्चा र इमानदार पार्टी भएको बताउँदै शिर ठाडो पारेर भोट माग्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले चेतना खस्किएका केही मानिसहरू अझै पनि ‘कसले के दिन्छ’ भन्ने सोचमा जमिन्दार र पूँजीपतिका पाउ ढोग्न गइरहेको टिप्पणी गर्दै हामी सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रम राष्ट्रिय जनमोर्चा विजयनगर गाउँ कमिटी अध्यक्ष तथा पालिकास्तरीय प्रचार–प्रसार समिति संयोजक गोविन्द परिवारको अध्यक्षतामा तथा राम भरोसे यादवको सञ्चालनमा सम्पन्न भएको थियो।














