कपिलवस्तु–३ मा रास्वपाको घरदैलो तीव्र, संवादमार्फत मतदाता जोड्ने प्रयास
कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा घरदैलो अभियानलाई तीव्र बनाएको छ। निर्वाचनलाई लक्षित गर्दै पार्टीले सम्पर्क कार्यालय सञ्चालनमा ल्याई मतदाताका समस्या, गुनासा र सुझाव संकलन गर्ने कामलाई व्यवस्थित गरेको जनाएको छ।

प्रत्यक्षतर्फका उम्मेदवार प्रकाश रजौरिया तथा समानुपातिकतर्फका उम्मेदवार मिर्जा रासिद बेगको नेतृत्वमा पार्टीको टोली गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेको छ। घरदैलोका क्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, खानेपानी, कृषि र सुशासनसम्बन्धी विषयहरू प्राथमिकताका साथ उठिरहेका छन्।

उम्मेदवार रजौरियाले सम्पर्क कार्यालय र घरदैलो अभियानमार्फत प्राप्त जनसमस्यालाई संसद् तथा नीतिगत तहमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। समानुपातिक उम्मेदवार बेगले समावेशी विकास, पारदर्शी शासन र नागरिकमैत्री सेवा रास्वपाको मुख्य एजेन्डा रहेको बताए।
स्थानीयवासीले समस्यासुन्ने र समाधानतर्फ उन्मुख हुने पार्टीको कार्यशैलीलाई सकारात्मक रूपमा लिँदै अभियानमा सक्रिय सहभागिता जनाइरहेका छन्। निरन्तर सम्पर्क र प्रत्यक्ष संवादका कारण कपिलवस्तु–३ मा रास्वपाप्रतिको चासो बढ्दै गएको देखिन्छ।
यसैबीच निर्वाचन व्यवस्थापन र संगठन सुदृढीकरणका लागि रास्वपा शिवराज नगर कमिटीका सभापति बालकृष्ण पाण्डेलाई चुनावी कमान्डरको जिम्मेवारी दिइएको छ। पार्टीका अनुसार पाण्डेको नेतृत्वमा चुनावी रणनीति र व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ।














