एमाले कपिलवस्तु–३ ले एकै दिन चार औपचारिक कार्यक्रम गर्यो
कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ ले आज एकै दिन चार वटा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ। पार्टीले चुनावी अभियानलाई तीव्र बनाउने उद्देश्यले विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेको हो।
आज बिहान ११ बजे शिवराज नगरपालिका वडा नम्बर १ मा ३ सयभन्दा बढी कार्यकर्ताको सहभागितामा निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

त्यसैगरी, दिउँसो १ बजे विजयनगरमा युवासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एमालेले ३ बजे पुनः विजयनगरमै अखिल नेपाल महिला संघ (अनेमासंघ) को कार्यक्रम सम्पन्न गरेको थियो। कार्यक्रममा महिला सहभागिता उल्लेखनीय देखिएको थियो।
अनेमासंघको कार्यक्रम सम्पन्न गरे लगत्तै केन्द्रीय तहका नेताहरूको सहभागितामा कपिलवस्तुको बहादुरगञ्जमा निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ। बहादुरगञ्जको कार्यक्रमले क्षेत्रीय स्तरमा एमालेको चुनावी अभियानलाई थप सशक्त बनाएको नेताहरूले बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बिरेन्द्र कुमार कनौडियाले पार्टी जनताको घरदैलोमा पुगेर समस्या बुझ्ने र समाधानका लागि प्रतिबद्ध रहेको बताए।

युवासँगको कार्यक्रममा उम्मेदवार कनौडियाले क्षेत्रका युवालाई रोजगारीमुखी बनाउने, सीपमूलक तालिम विस्तार गर्ने र खेलकुद तथा उद्यमशीलतामा युवाको पहुँच बढाइने प्रतिबद्धता जनाए। उनले युवालाई वैदेशिक रोजगारीमा जान बाध्य बनाउने अवस्थाको अन्त्य गर्दै स्थानीय स्तरमै अवसर सिर्जना गरिने बताए।
अखिल नेपाल महिला संघ (अनेमासंघ) को कार्यक्रममा उनले महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार कार्यक्रम विस्तार, महिला हिंसा विरुद्ध कडा पहल तथा निर्णय तहमा महिलाको सहभागिता सुनिश्चित गरिने प्रतिवद्धता व्यक्त गरे। महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ थियो।
त्यसैगरी क्षेत्रगत विकासका सन्दर्भमा उम्मेदवार कनौडियाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाइ जस्ता आधारभूत आवश्यकता पूरा गर्ने कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए। उनले कपिलवस्तु क्षेत्र नम्बर ३ लाई कृषि, उद्योग र व्यापारको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरे।














