जनमोर्चाको क्षेत्रीय कार्यालय उद्घाटनसँगै तात्यो कपिलवस्तु: माधव भाट क्षेत्रीको १४ बुँदे प्रतिबद्धता सार्वजनिक

जनमोर्चाको क्षेत्रीय कार्यालय उद्घाटनसँगै तात्यो कपिलवस्तु: माधव भाट क्षेत्रीको १४ बुँदे प्रतिबद्धता सार्वजनिक

नवराज पौडेल कपिलवस्तु
​आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक चहलपहल तीव्र बनेको छ । यसै क्रममा राष्ट्रिय जनमोर्चाले आफ्नो क्षेत्रीय कार्यालय उद्घाटन गर्दै चुनावी मैदानमा सशक्त उपस्थिति जनाएको छ । पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले विशेष कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरेसँगै सो क्षेत्रका प्रत्यक्ष उम्मेदवार माधव भाट क्षेत्रीले आफ्नो विस्तृत निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

​कार्यालय उद्घाटनको उल्लासपूर्ण वातावरणमा उम्मेदवार क्षेत्रीले गणतन्त्र र राष्ट्रियताको रक्षाका साथै संघीयता खारेजीलाई आफ्नो प्रमुख राजनीतिक मुद्दाका रूपमा अघि सार्नुभएको छ । उहाँले भ्रष्टाचारको अन्त्य, दिगो विकास र सहकारी ठगीमा संलग्नहरूलाई कानुनी कठघरामा उभ्याउने दृढ संकल्प व्यक्त गर्नुभयो । विशेषगरी कपिलवस्तुको ऐतिहासिक पहिचानसँग जोडिएको तिलौराकोटलाई केन्द्रमा राखेर बुद्धकालीन स्थलहरूको एकीकृत विकास गरी ‘बौद्ध पुरातात्त्विक सहर’ निर्माण गर्ने योजनालाई उहाँले प्राथमिकतामा राख्नुभएको छ ।

​कृषि प्रधान क्षेत्रका रूपमा रहेको कपिलवस्तुको आर्थिक रुपान्तरणका लागि भूमि बैंकको स्थापना, कृषि चक्लाबन्दी र आधुनिकीकरणलाई जोड दिँदै क्षेत्रीले प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने योजना अघि सार्नुभएको छ । उहाँले जगदीशपुर ताल, लक्ष्मणघाट, कपिलधाम र चुरे क्षेत्रको वातावरणीय संरक्षण गर्दै पर्यटकीय गुरुयोजनामार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभयो । शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्न राष्ट्रिय नीतिमै हस्तक्षेपकारी भूमिका खेल्ने उहाँको दाबी छ

​विदेश पलायन भइरहेका युवा जनशक्तिलाई स्वदेशमै रोक्न कृषि तथा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको स्थापना र युवाहरूमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने विषयलाई पनि क्षेत्रीले आफ्नो संकल्प पत्रमा समेट्नुभएको छ । निर्वाचनको समयमा मात्र नभई ‘जनतामा जाऔँ, जनताबाट सिकौँ’ भन्ने आदर्शलाई आत्मसात गर्दै सधैँ जनताको सेवा, संवाद र संघर्षमा जोडिने प्रतिबद्धताले स्थानीय मतदातामाझ उत्साह जगाएको छ । कार्यालय स्थापना र प्रतिबद्धता पत्र सार्वजनिक भएसँगै यस क्षेत्रमा राष्ट्रिय जनमोर्चाको चुनावी अभियानले नयाँ गति लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ