राष्ट्रियता र उत्पादनमुखी विकासमा जोड, कपिलवस्तु–३ मा राजमोको घोषणापत्र सार्वजनिक

राष्ट्रियता र उत्पादनमुखी विकासमा जोड, कपिलवस्तु–३ मा राजमोको घोषणापत्र सार्वजनिक

नवराज पौडेल , कपिलवस्तु
राष्ट्रिय जनमोर्चाले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार केर सिंह अदैलाई अघि सार्दै विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ। राष्ट्रियता, सुशासन र उत्पादनमुखी विकासलाई केन्द्रीय एजेन्डा बनाउँदै दलले जनजीविकासँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार अदैले राष्ट्रिय स्वाधीनताको संरक्षण, गणतन्त्रको सुदृढीकरण र स्थानीय तहमा सुशासनको संस्थागत मजबुतीलाई मुख्य लक्ष्यका रूपमा प्रस्तुत गरे। “राजनीतिक स्थायित्व र नीति स्पष्टता विना विकास सम्भव हुँदैन,” उनले भने, “हाम्रो प्राथमिकता उत्पादन वृद्धि, रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रण हो।

घोषणापत्रमा शिक्षा र स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच विस्तार, कृषक तथा मजदुरका समस्या समाधान, र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिइएको छ। कृषि क्षेत्रलाई आधुनिकीकरण, सिँचाइ विस्तार र बजार व्यवस्थापनमार्फत सुदृढ बनाउने योजना उल्लेख गरिएको छ। युवालाई स्वरोजगारमुखी तालिम, सहुलियत ऋण तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रममार्फत सशक्त बनाउने प्रतिबद्धता पनि जनाइएको छ।
भ्रष्टाचार नियन्त्रण, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सहकारी क्षेत्रको पारदर्शी व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसमेत घोषणापत्रमा समेटिएको छ। विपन्न र सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्दै क्षेत्रीय विकासलाई तीव्रता दिने दलको दाबी छ। पूर्वाधार विकासअन्तर्गत सडक, खानेपानी, सिँचाइ र पर्यटन क्षेत्रलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।
यसै अवसरमा निर्वाचन क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गरिएको छ। कार्यक्रममा राजमो जिल्ला अध्यक्ष राम प्रसाद बेल्बासेले रिबन काटेर कार्यालय उद्घाटन गरे। उनले घोषणापत्र कार्यान्वयनका लागि जनसमर्थन निर्णायक हुने बताउँदै चुनावी अभियानलाई संगठनात्मक रूपमा सशक्त बनाइने बताए।
राजमोले कपिलवस्तु–३ मा चुनावलाई व्यक्तिवादी प्रतिस्पर्धाभन्दा नीति र कार्यक्रमको बहसमा केन्द्रित गर्ने रणनीति अघि सारेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ