सहकारीहरुलाई व्यवस्थित बनाउदै सहकारीको रकम आयमूलक ठाँउमा लगानी गरी चलायमान गरे मात्रै सहकारीका सदस्यहरुमा समृद्धि आउने शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले बताउनु भयो । सहकारीमा जम्मा भएको रकम उत्पादन र नाफामूलक काममा लगाएर आम्दानी बढाउनु पर्नेमा थापाले जोड दिनु भयो । नगरका सहकारीहरुलाई व्यवस्थित बनाउन सहकारीहरु संग छलफल भइरहेको उहाँले जानकारी दिनु भयो । ६८ औं सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर थापाले स्थानिय स्तरमा रहेका सहकारीले स्थानिय नागरिकको आयआर्जनमा सहजता ल्याउन सस्तो व्याजदरमा ऋण प्रवाह गर्ने हुदाँ व्यवसायि र आत्म निर्भर बन्न सहयोग पुराएको बताउनु भयो ।
सहकारीहरुले महिलाहरुलाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताउदै सहकारीको लगानीलाई सहि ठाउँ प्रयोग गर्नु पर्ने शिवराज नगर उप प्रमुख शिवकुमारी थारुले बताउनु भयो । सहकारीमा आबद्ध भएपछि महिलाहरु उद्यमी बन्दै आयआर्जन गरी अत्मनिर्भर तथा स्वरोजगार बनेको बताउनु भयो । नगरमा संचालनमा रहेका सहकारी संस्थाहरु आयआर्जन तर्फ भन्दा मलखाँद ल्याउन र वितरण गर्न लागी खोलिएको पाइएकाले त्यस्ता सहकारीलाई पनि व्यवस्थित बन्दै आर्थिक उपार्जन तर्फ लाग्नु पर्नेमा उप प्रमुख थारुले जोड दिनु भयो ।
एकल रुपमा लगानी गर्न नसकिने सामूहिक रुपमा आय आर्जन गर्नका लागी समूह र सहकार्य हुदै सहकारीको स्वरुप बनेको प्रमुख प्रसाशकिय अधिकृत बाबुराम पौडेलले बताउनु भयो । २०१३ चैत्रमा २० गते पहिलो सहकारी चितवन संचालनमा आएको र सोहि मितिलाई नै राष्ट्रिय सहकारी स्थापना दिवसको रुपमा मनाउदै आएको उहाँले जानकारी गराउनु भयो । पछिल्लो समयमा केहि स्वार्थ लिएर संचालित सहकारीहरु मर्यादित नबन्दा सहकारी बदनाम समेत भएको उहाँले बताउनु भयो ।

मर्यादित सहकारी समुन्नत समाज भन्ने मूल नारा सहित शिवराज सहकारी संजालको आयोजनामा ६८ औं सहकारी दिवस मनाइएको हो । नगरमा रहेका विभिन्न १४ वटा सहकारीको सहभागितामा चन्द्रौटाको शसस्त्र चेकपोष्टबाट र्याली निकालिएको थियो । सहकारी दिवस मनाउदै गर्दा सहकारी भित्र रहेका विसंगति बेथिती र विकृतीका विरुद्ध सहकारीहरु मर्यादित हुनु पर्ने आयोजक शिवराज सहकारी सन्जालका अध्यक्ष शरद अधिकारीले बताउनु भयो । कार्यक्रममा नगरका वडा अध्यक्षहरु, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डे, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, मानव अधिकार प्रतिष्ठानका सभापति विष्णु खतिवडा विभिन्न सहकारी संस्थाका संचालक तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।





















