देश शोकमा रहेका बेला उत्सव उपयुक्त हुँदैन : सांसद शाह
नवराज पौडेल कपिलवस्तु ,,
कपिलवस्तु क्षेत्र नम्बर ३ का नवनिर्वाचित सांसद अभिषेक प्रताप शाहले आफ्नो विजयको अवसरमा विजय जुलुस तथा भव्य उत्सवका कार्यक्रम नगर्ने घोषणा गर्नुभएको छ। देशको वर्तमान संवेदनशील अवस्था र हालै भएको दुःखद घटनालाई ध्यानमा राख्दै उहाँले यस्तो निर्णय लिनुभएको हो।
सांसद शाहले निर्वाचन देशको विषम परिस्थितिका बीच सम्पन्न भएको उल्लेख गर्दै हालैको घटनामा ७६ जना निर्दोष बालबालिका एवम सुरक्षाकर्मी लगाएतले ज्यान गुमाएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। यस्तो पीडादायी परिस्थितिमा उत्सव र खुशीयाली मनाउनु उचित नहुने उहाँको भनाइ छ।
“देश नै शोकमा रहेका बेला व्यक्तिगत विजयको उत्सव मनाउनु उपयुक्त हुँदैन,” उहाँले भन्नुभयो, “त्यसैले हामीले विजय जुलुस ननिकाल्ने निर्णय गरेका छौँ।
यद्यपि, सांसद शाहले कपिलवस्तु क्षेत्र नम्बर ३ का सम्पूर्ण नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूसँग क्रमशः भेटघाट तथा धन्यवाद आदानप्रदान गर्ने जानकारी दिनुभयो। निर्वाचनका क्रममा साथ र सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले अब क्षेत्रको विकास, जनताको अपेक्षा र समृद्धिका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
सांसद शाहको यो निर्णयलाई धेरैले संवेदनशीलता, जिम्मेवारी र सामाजिक उत्तरदायित्व झल्काउने कदमका रूपमा लिएका छन्।














