कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकस बासा निवासी पार्वती चौधरी गम्भीर बिरामी अवस्थामा घरमै रहेकी छन्। मुटुमा पानी जमेको र एउटा मिर्गौलामा समस्या देखिएपछि उनको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेको परिवारले जनाएको छ।
परिवारका अनुसार पार्वती चौधरीलाई करिब एक महिनासम्म आईसीयूमा राखेर उपचार गरिएको थियो। उपचारका क्रममा दैनिक करिब ३० हजार रुपैयाँसम्म खर्च भएको बताइएको छ। तर लगातार उपचार गर्दा गर्दै सबै पैसा सकिएपछि थप उपचार गर्न नसक्दा अन्ततः उनलाई घरमै ल्याएर राख्नुपरेको परिवारले जनाएको छ।
बिरामी चौधरीकी आमा चमेली विश्वकर्माका अनुसार छोरीलाई बचाउन घरमा भएका सम्पूर्ण सामानसमेत बेचिएको छ। “छोरीको उपचारका लागि घरका सामान, कुखुरा र बाख्रासमेत बेच्यौं, तर पनि खर्च धान्न सकेनौं,” उनले दुःखेसो पोखिन्।
उनका अनुसार अहिले घरमै एउटा अक्सिजन सिलिन्डर राखिएको छ र दिनमा दुई पटक मात्रै अक्सिजन लगाएर छोरीको ज्यान धानिरहेको अवस्था छ। पर्याप्त उपचार र औषधि गर्न नसक्दा परिवार अत्यन्तै पीडामा रहेको उनले बताइन्।
परिवारका अनुसार पार्वती चौधरीका श्रीमान्ले उनलाई छोडेर गइसकेका थिए। त्यसपछि उनले आफैं मेहनत गरेर चिया बेच्दै आफ्नो परिवारको गुजारा चलाउँदै आएकी थिइन्। उनी नै परिवारको मुख्य आधार भएकाले अहिले उनी गम्भीर बिरामी परेपछि परिवार ठूलो संकटमा परेको छ। परिवारको सहारा नै ढलेपछि घरपरिवार अत्यन्त निराश बनेको छ।
यसैबीच, शिवराज नगरपालिका–१ का वडा अध्यक्ष खिम विक्रम केसीले बिरामी पार्वती चौधरीको उपचारका लागि सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई सक्दो सहयोग गर्न अनुरोध गर्नुभएको छ। उहाँले मानवताको नाताले आर्थिक तथा अन्य सहयोग गरी बिरामीको ज्यान बचाउन सबैलाई अघि आउन अपिल गर्नुभएको छ।
परिवारले पनि आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारका लागि आवश्यक खर्च जुटाउन कठिनाइ भएको बताउँदै सहयोगी मनहरूलाई सक्दो सहयोग गरिदिन हार्दिक आग्रह गरेको छ














