वडाको तालिमले पायो सार्थकता: मिलिजुली महिला लघुउद्यमद्वारा स्थानीय सफाइ सामग्री उत्पादन सुरु ।।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ द्वारा केही महिना अघि प्रदान गरिएको घरेलु उद्यम सम्बन्धी तालीमले सार्थकता पाएको छ। तालीम प्राप्त महिलाहरूले अब मिलिजुली महिला लघुउद्यम मार्फत हारपिक, फिनाइल, टायल क्लिनर, सर्फ, ह्यान्ड वास, डिस वास लगायतका सफाइ सामग्रीहरूको उत्पादन सुरु गरेका छन्।
“स्थानीय उत्पादनकाे प्रयोग गरौं, सिकेको सीप सदुपयोग गरि आत्मनिर्भर बनौं” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै महिलाहरूले उत्पादनको सुरुवात गरेका हुन्। शुक्रबार एक समारोहका बीच उत्पादनको औपचारिक उद्घाटन सम्पन्न भएको छ।
वडाध्यक्ष टेकलाल सापकोटाका अनुसार, “महिलाहरूलाई सीपमूलक तालीम दिँदा त्यसको व्यावसायिक प्रयोग हुन्छ भन्ने हाम्रो विश्वास थियो। आज त्यो विश्वास सार्थक भएको छ। यो लघुउद्यमले महिलाहरूलाई आत्मनिर्भर बनाउने बताउनु भएको छ ।
कार्यक्रममा नगरप्रमुख अजय थापा, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरि पाण्डे लगाएको उपस्थिती रहेको थियो ।

उद्यमकी संयोजक अनिता भुसालले तालीमपछि महिलाहरूले आपसी सहकार्यमा सामूहिक उत्पादन सुरु गरेको बताउँदै बजार विस्तार र गुणस्तरमा निरन्तर ध्यान दिने प्रतिवद्धता व्यक्त गरिन्।
स्थानीय उत्पादनले आयातित वस्तुको विकल्प दिने मात्र होइन, महिलाहरूको आत्मबल र आर्थिक सशक्तीकरणमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ। यस्ता लघुउद्यमले समुदायमै रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्र सुदृढ पार्ने अपेक्षा गरिएको छ।














