चन्द्रौटामा ‘वेलकम फेमिली रेष्टुरेन्ट’को भव्य उद्घाटन ।। स्वाद र सेवाको नयाँ गन्तव्य

चन्द्रौटामा ‘वेलकम फेमिली रेष्टुरेन्ट’को भव्य उद्घाटन ।। स्वाद र सेवाको नयाँ गन्तव्य
नवराज पौडेल कपिलवस्तु ,,

अब चन्द्रौटावासीलाई उत्कृष्ट खाना र आतिथ्यपूर्ण सेवाको अनुभव लिन शहर बाहिर लामो यात्रा गर्नुपर्ने दिन सकिएको छ। शिवराज नगरपालिका–५, सहजचोक पेट्रोल पम्प नजिकै अत्याधुनिक डिजाइन र आधुनिक सुविधासहित वेलकम फेमिली रेष्टुरेन्ट भव्य रूपमा सञ्चालनमा आएको छ।

शुक्रबार आयोजित विशेष समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री अर्जुन कुमार केसीले रेष्टुरेन्टको उद्घाटन गर्दै यसलाई चन्द्रौटाको खानपान र पाहुना सत्कार संस्कृतिमा महत्वपूर्ण योगदान पुर्‍याउने संस्थानका रूपमा वर्णन गरे। उनका अनुसार, “वेलकम फेमिली रेष्टुरेन्ट जस्तो सुविधा सम्पन्न, परिवारमैत्री र स्वादमा नयाँपन ल्याउने स्थलले स्थानीय पर्यटन र व्यवसायिक वातावरणमा नयाँ सम्भावनाको ढोका खोल्छ।”

उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी, व्यवसायी, सञ्चारकर्मी, युवा उद्यमी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रह्यो। सबैले नयाँ रेष्टुरेन्टको आगमनलाई चन्द्रौटाको आर्थिक तथा सांस्कृतिक विकासको एक सकारात्मक कदमका रूपमा स्वागत गरे।

रेष्टुरेन्टका सञ्चालक चिरञ्जीवी थापाले वेलकम फेमिली रेष्टुरेन्टको सेवा दर्शनबारे जानकारी दिँदै भने — “हाम्रो लक्ष्य केवल खाना बेच्छु भन्ने होइन, ग्राहकलाई एउटा स्मरणीय अनुभव दिनु हो। हामी पुरानो स्वादको आत्मीयता र नयाँ अनुभवको नवीनता मिसाएर सेवा गर्छौं।”

उनका अनुसार, यहाँको मेनुमा नेपाली, भारतीय, चाइनिज र विभिन्न अन्तर्राष्ट्रिय परिकारहरूको विस्तृत सूची छ। हरेक परिकारमा ताजा सामग्री, स्वच्छ तयारी र सन्तुलित स्वादलाई प्राथमिकता दिइन्छ।
वेलकम फेमिली रेष्टुरेन्टमा खुला र आरामदायी बैठक व्यवस्था, हल, इनडोर–आउटडोर डाइनिङ विकल्प, परिवार र साथीभाइसँग भेटघाटका लागि छुट्टै निजी स्थान, बालबालिकाका लागि खेल्ने कुनासम्मको सुविधा उपलब्ध छ।
रेष्टुरेन्टको स्वच्छ वातावरण, हरियाली सजावट र आधुनिक इंटेरियरले ग्राहकलाई लामो समयसम्म बस्न र रमाउन उत्प्रेरित गर्छ।
रेष्टुरेन्ट सञ्चालनले स्थानीय युवालाई रोजगारीका अवसर सिर्जना गरेको छ। साथै, नजिकैका किसान र आपूर्तिकर्ताबाट दैनिक ताजा तरकारी, मासु र अन्य सामग्री खरिद गर्ने योजनाले स्थानीय उत्पादनलाई पनि प्रोत्साहन दिने बताइएको छ।
सञ्चालक थापाले थपे — “हाम्रो प्रयास चन्द्रौटामा मात्र होइन, आसपासका क्षेत्रका ग्राहकलाई पनि आकर्षित गर्नु हो। हामी यहाँको खानाकुरा संस्कृतिमा नयाँ स्वाद र रौनक भर्न चाहन्छौं।”
उनीहरूको विश्वास छ, उत्कृष्ट खाना, सौहार्दपूर्ण सेवा र पारिवारिक वातावरणकै कारण वेलकम फेमिली रेष्टुरेन्ट छिट्टै चन्द्रौटाको ‘फुड ल्यान्डमार्क’का रूपमा स्थापित हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ