चन्द्रौटामा मेडिकल ठगीको गम्भीर आरोप : सामान्य उपचारमै ५२ हजार असुली ।

चन्द्रौटामा मेडिकल ठगीको गम्भीर आरोप : सामान्य उपचारमै ५२ हजार असुली ।

नवराज पौडेल कपिलवस्तु ,
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा स्थित जनता हेल्थ क्लिनिकमाथि गम्भीर मेडिकल ठगीको आरोप लागेको छ। सामान्य उपचारका नाममा अत्यधिक शुल्क असुलेको भन्दै पीडित परिवारले शिवराज नगरपालिकामा औपचारिक उजुरी दर्ता गराएका छन्।
दाङको गढवा निवासी सिमा डागी क्षेत्री खुट्टा दुख्ने तथा सास बढ्ने समस्याका कारण उपचारका लागि चन्द्रौटा आएकी थिइन्। परिवारका अनुसार बिरामीलाई राम्रो अस्पताल लैजान एम्बुलेन्स चालकलाई आग्रह गरिएको थियो। तर चालकले अन्यत्र नलगि सोझै चन्द्रौटास्थित जनता हेल्थ क्लिनिकमा पुर्‍याएको पीडित पक्षको आरोप छ।
गत ३० गते राति करिब १० बजेतिर क्लिनिकमा लगिएपछि बिरामीलाई २ वटा सुई, ३ बोतल सलाइना पानी र १ वटा इसिजी (ECG) मात्र गरिएको पीडित परिवारले जनाएको छ। तर यति सामान्य उपचारपछि पनि क्लिनिकले एकै रातमा ५२ हजार रुपैयाँको बिल बनाएको भन्दै परिवारले गम्भीर आपत्ति जनाएको छ।
पीडित पक्षका अनुसार बिलमा देखाइएको विवरण झन् शंकास्पद रहेको छ। बिल अनुसार दुईवटा सुईको मात्र शुल्क क्रमशः २३ हजार र १८ हजार रुपैयाँ उल्लेख गरिएको छ, जुन सामान्य उपचारको तुलनामा अत्यन्त अस्वाभाविक भएको उनीहरूको भनाइ छ। यति मात्र नभई बिरामीको एक्स–रे नै नगरी बिलमा एक्स–रे शुल्क समेत जोडिएको पीडित परिवारले आरोप लगाएको छ।
त्यसैगरी क्लिनिकले १५ सय रुपैयाँ ‘कन्सल्टेसन फी’ लिएको देखिए पनि बिलमा चिकित्सकको नेपाल मेडिकल काउन्सिल (NMC) नम्बर उल्लेख नभएको बताइएको छ। साथै उपचारमा संलग्न भनिएका व्यक्तिसँग मेडिकल कलेजको मान्य प्रमाणपत्रसमेत नभएको आशंका पीडित पक्षले व्यक्त गरेको छ।
पीडित परिवारका अनुसार बिल तिर्न आनाकानी गर्दा क्लिनिकबाट विभिन्न किसिमका दबाब तथा धम्की दिइएको थियो। सोही कारण बाध्य भएर ५२ हजार रुपैयाँ तिर्नुपरेको परिवारले जनाएको छ।
घटनापछि बिरामीलाई थप जाँचका लागि एबिसी हेल्थ क्लिनिकमा लगिएको थियो। त्यहाँ गरिएको परीक्षणमा भने बिरामीमा कुनै गम्भीर रोग नभएको चिकित्सकले बताएका छन्। यसले जनता हेल्थ क्लिनिकले अनावश्यक उपचारको नाममा अत्यधिक रकम असुलेको आशंका झन् गम्भीर बनेको पीडित पक्षको भनाइ छ।
पीडित परिवारले अत्यधिक शुल्क असुलिएको भन्दै शिवराज नगरपालिकामा उजुरी दिँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। नगरपालिका यस अघि पनि म्याद सकिएको औसधि राखेको भन्दै सुधार गर्न परिपत्र गरेको थियो ।
स्थानीय बासिन्दाले पनि निजी स्वास्थ्य संस्थाहरूले मनपरी शुल्क असुल्ने प्रवृत्ति बढ्दै गएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले यस्ता स्वास्थ्य संस्थामाथि कडा अनुगमन नगरे सर्वसाधारण झन् ठगिनुपर्ने अवस्था आउने चेतावनी दिएका छन्।
घटनाबारे शिवराज नगरपालिका तथा सरोकारवाला निकायले छानबिन सुरु गर्ने तयारी गरेको जनाइएको छ। आरोप प्रमाणित भए सम्बन्धित स्वास्थ्य संस्थामाथि कडा कानुनी कारबाही हुन सक्ने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर