आरनको आगोमा बल्छ जीवन : पिन्टु र रमेशको संघर्ष

आरनको आगोमा बल्छ जीवन : पिन्टु–रमेशको संघर्ष र गर्व
नवराज पौडेल कपिलवस्तु

बिहान सबेरै आरनको भट्टी ततिसकेको हुन्छ। फलाम तताउँदा निस्कने राताम्य चमक र हातौडाले प्रहार गर्दा आउने घन्किने आवाजले सिंगो आँगन गुन्जिन्छ। यही आवाजले पिन्टु विश्वकर्मा र रमेश विश्वकर्माको परिवारको जीवन अडिएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा बसोबास गर्ने यी दुवै भाइ बाल्यकालदेखि नै यही आगो र फलामसँग खेल्दै हुर्किए। उनका हजुरबुवा बुधै लोहार र बुवा भरत लोहारले अघिल्ला पुस्तादेखि अँगालिएको परम्परा नै आज उनीहरूको जीवनयात्राको आधार बनेको छ। तर केही वर्षअघि बुवाको असामयिक निधनले परिवारलाई ठूलो चोट दिएको छ। त्यही घाउलाई सम्भार्दै, १२ जनाको ठूलो परिवारलाई पाल्ने जिम्मा अहिले यी दुई भाइका काँधमा छ।

हजुरबुवा बुधै लोहार अझै पनि कोमल स्वरमा सम्झिन्छन्
“हामीले नबनाए गाउँमा कोही औजार पाउँदैनथ्यो। खेतीपाती, घरधुरी सबै हाम्रो हातले बनेका सामानमै निर्भर हुन्थे।”
यही गर्विलो सीप बुबा भरत लोहारमार्फत पिन्टु र रमेशसम्म आइपुग्यो। तर बुबा बितेपछि घरको आर्थिक भार अझ बढ्यो। अब बिहानको घामसँगै उनीहरूको संघर्ष सुरु हुन्छ — फलाम तताउने, हातौडा चलाउने र पसिनासँगै भविष्य लेख्ने।

हामी बन्दुक बाहेक जे पनि बनाउन सक्छौँ पिन्टुले मुस्कुराउँदै भने, “चिम्टा, हलको फाल, हसिया, कुञ्जी, दरवाजाका पाटा, भाँडाकुँडा जे माग्छन्, हामीले बनाउँछौँ।
शिवराज नगरपालिकामा लाग्ने हप्ताको तीन बारका बजार मध्ये हप्तामा दुई दिन — बुधबार र आइतबार — उनीहरूका लागि अवसर र आशा बोकेर आउँछ। ती दिनमा उनीहरूले आफैंले बनाएको सामान बोकेर बजार पुग्छन्। किसानले हलको फाल खोज्छ, गृहिणीले चिम्टा, ताला, कुञ्जी हसिया , चक्कु माग्छिन्। पुराना ग्राहकले धन्यवाद दिन्छन्, नयाँ ग्राहकले अर्डर दिन्छन्।बजार नै हाम्रो जीवनरेखा हो, रमेश भन्छन्, ती दिन आम्दानी नहुँदो हो त घरमा चुलो बाल्नै मुस्किल हुन्थ्यो।

तर यो बाटो सजिलो छैन। आधुनिक कारखानामा बनेका सस्ता सामान बजारमा बाढीझैँ आएको छ। फलाम, कोइला र अन्य कच्चा पदार्थको मूल्य चुलिँदै गएको छ। प्रतिस्पर्धा बढेको छ।
हाम्रो मेहनत धेरै लाग्छ, तर कहिलेकाहीँ मूल्यले न्याय गर्दैन । पिन्टु भन्छन्। तर उनलाई गर्व छ — आफ्नै पसिनाले बनाएको सामान प्रयोग गरेर गाउँलेले पाएको सुविधा

आरनको पेशा केवल जीविकोपार्जन मात्र होइन, समुदायलाई आत्मनिर्भर बनाउने स्रोत पनि हो। गाउँमा खेतबारी खनिने हल, धान काटिने हसिया, घर चल्ने चिम्टा — यी सबैले परम्परागत सीपको महत्व अझै जोगाइराखेका छन्।
रमेश भन्छ्न जब कोही ग्राहक आउँछ र भन्छ — तपाईंको बनाएको हसियाले राम्रो काम गर्‍यो, त्यो सुन्दा लाग्छ हाम्रो पसिना व्यर्थ गएको छैन।

पिन्टु–रमेशको कथा केवल एउटा परिवारको मात्र होइन। यो पुस्तौँदेखि चल्दै आएको परम्परा हो, जसलाई जोगाउन समाज र राज्य दुवैको भूमिका आवश्यक छ। यदि स्थानीय तहले सहयोग र प्रोत्साहन गरे, यस्ता सीपधारी परिवारले आफ्नो परिवार पाल्छन्, र समुदायलाई आत्मनिर्भर बनाउन अझ ठूलो योगदान दिन सक्छन्।

“हामीलाई गर्व छ पिन्टुले अन्त्यमा भने, यो सीप हाम्रो पहिचान हो। यसलाई जोगाउन सके, हाम्रो भविष्य मात्र होइन, सम्पूर्ण गाउँ बलियो हुन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ