कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा सम्पन्न
कपिलवस्तु ।
कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व वनमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले वन संरक्षण र दिगो व्यवस्थापन राज्यको मात्र नभई स्थानीय समुदायको पनि साझा जिम्मेवारी भएको बताउनुभयो । उहाँले सामुदायिक र साझेदारी वनले रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र स्थानीय विकासमा पुर्याउँदै आएको योगदान उल्लेखनीय रहेको बताउँदै यसलाई अझ प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले साझेदारी वनहरूले नागरिकलाई स्वरोजगार र आम्दानीमुखी कार्यक्रमसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले बेसार, केरा लगायतका नगदे बाली र वनजन्य उत्पादनसँग सम्बन्धित परियोजनाहरू सञ्चालन गर्न सके नगरपालिकाले पनि सहकार्य र साझेदारी गर्न तयार रहेको बताउनुभयो । थापाले नगरमा आएको वनसम्बन्धी बजेट कानुनी अड्चनका कारण पूर्ण रूपमा प्रयोग गर्न नसकिएको उल्लेख गर्दै यस्तो विषयमा सरोकारवालाबीच अन्तरक्रिया र नीति सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमका साझेदारि वनका सदस्य एवम् वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वन र वन्यजन्तु संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चोरी निकासी नियन्त्रण र काठको अधिकतम वितरण जनस्तरसम्म पुर्याउन वन उपभोक्ता समूहहरूको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी समूहका अध्यक्ष गङ्गेशनाथ तिवारीले आगामी कार्ययोजना प्रस्तुत गर्दै समूह जिल्ला कै दोस्रो ठूलो साझेदारी वन भए पनि हाल घाटामा रहेको जानकारी दिनुभयो । उहाँले लुम्बिनी प्रदेशमा वन मन्त्रालय रहे पनि त्यसको प्रभाव जनस्तरसम्म नपुगेको गुनासो गर्दै, वन मन्त्रालयले स्थानीय तह र साझेदारी वनसँग प्रत्यक्ष सहकार्यमा जोड दिनुपर्ने माग गर्नुभयो ।

सभामा सरोकारवाला निकायका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, उपभोक्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।साधारणसभाले नयाँ वर्षका लागि वन संरक्षण, आयमूलक कार्यक्रम, र उपभोक्ताको क्षमता विकासमा केन्द्रित योजना अघि बढाउने निर्णय समेत गरेको छ । कार्यक्रम कपिलवस्तु साझेदारी वन उपभोक्ता समुहका कार्यलय प्रमुख पहलमान शेरबुजा मगरको संचालनमा सम्पन्न भएको हो ।














