शिवराज–४ मा निःशुल्क आँखा शिविर सप्पन्न ।। २८० लाभान्वित
लोक संचार अन्लाईन क.व
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ मा आयोजित निःशुल्क आँखा शिविरबाट २८० जना स्थानीय नागरिक लाभान्वित भएका छन्। शिवराज नगरपालिकाको आर्थिक सहयोग तथा वडा नं. ४ को आयोजनामा सम्पन्न शिविर छन्द कालेबाबु नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।

वडा नम्बर ४ को बर्गदवा मदरसाको प्राङ्गणमा सम्पन्न शिविरमा ज्येष्ठ नागरिक, महिला, मजदुर तथा विपन्न वर्गको उल्लेखनीय सहभागिता रहेको थियो। मुस्लिम समुदायको बाहुल्य रहेको यस वडामा आर्थिक अभावकै कारण नियमित स्वास्थ्य जाँच गर्न नसकेका नागरिकका लागि शिविर उपयोगी बनेको स्थानीयवासीको भनाइ छ।
शिविरमा गरिएको परीक्षणका क्रममा ८७ जनामा दृष्टि कमजोर पाइएको र उनीहरूलाई निःशुल्क चस्मा वितरण गरिएको छ। यसले दैनिक ज्यालादारी गर्ने तथा श्रमजीवी वर्गका नागरिकलाई प्रत्यक्ष राहत पुगेको छ।
त्यसैगरी, आँखा जाँचका क्रममा ६४ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन्। वडा अध्यक्ष नसिम अहमद खानका अनुसार ती सबै बिरामीहरूको बहादुरगञ्जस्थित नारायणी आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ। शल्यक्रिया, आवतजावत तथा आवश्यक औषधिको व्यवस्थासमेत समन्वयका साथ गरिने उहाँले जानकारी दिनुभयो।
आँखा जस्तो संवेदनशील अंगको उपचारमा ढिलाइले गम्भीर समस्या निम्त्याउन सक्छ,” वडा अध्यक्ष खानले भन्नुभयो,त्यसैले स्वास्थ्य सेवाबाट पछि परेका समुदायलाई लक्षित गर्दै वडास्तरमै शिविर आयोजना गरिएको हो।

शिविर सफल बनाउन शिवराज नगरपालिकाको आर्थिक सहयोग, वडा कार्यालयको व्यवस्थापन तथा नारायणी आँखा अस्पतालका चिकित्सक र प्राविधिक टोलीको महत्वपूर्ण योगदान रहेको आयोजकले बताएका छन्। स्थानीयवासीहरूले यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।














