शिवराजमा उद्घोषण तालिम सम्पन्न : प्रशिक्षार्थीले नै कार्यक्रम सञ्चालन गर्दै क्षमता प्रदर्शन
कपिलवस्तुको शिवराज नगरपालिका को आयोजना तथा मेरो साथी एफएम ९२.२ मेगाहर्ज को व्यवस्थापनमा सञ्चालित उद्घोषण तालिम एक कार्यक्रमका बीच सम्पन्न भएको छ। चैत १ गतेदेखि सञ्चालन भएको उक्त तालिम आज औपचारिक रूपमा समापन गरिएको हो।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अजय थापा ले सञ्चार क्षेत्रको विकासमा यस्ता तालिमहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै सहभागीहरूलाई सिकेको सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्षले पनि मन्तव्य राख्दै तालिमले स्थानीय युवाहरूमा आत्मविश्वास र प्रस्तुतीकरण क्षमता वृद्धि गरेको बताउनुभयो। उहाँले आगामी दिनमा समेत यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
तालिममा करिब ५० जनाको सहभागिता रहेको थियो। विशेष कुरा के भने, तालिम समापनपछि आयोजित औपचारिक कार्यक्रम स्वयं प्रशिक्षार्थीहरूले नै सञ्चालन गरेका थिए, जसले उनीहरूको सिकाइ र क्षमता प्रत्यक्ष रूपमा प्रस्तुत गरेको थियो।
यसैगरी वडा नम्बर १ का अध्यक्ष खिम विक्रम केसि ले प्रशिक्षार्थीहरूको उल्लेख्य सहभागिता र उत्साहजनक प्रदर्शनको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा एडभान्स लेभलको तालिम समेत आयोजना गरिने जानकारी दिँदै अब वडाका कार्यक्रम सञ्चालनका लागि बाहिरबाट जनशक्ति ल्याउनुपर्ने अवस्था हट्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा चिन्ता परियार (प्रबन्ध निर्देशक, मेरो साथी एफएम) र राजु खराल लगायतले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षकहरूले सञ्चार सीप, प्रस्तुतीकरण कला, आवाज नियन्त्रण, तथा कार्यक्रम सञ्चालनका विभिन्न पक्षबारे सहजीकरण गरेका थिए।
स्थानीय स्तरमै सञ्चारकर्मी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिमले सहभागीहरूमा नयाँ ऊर्जा र आत्मविश्वास थपेको आयोजकको विश्वास रहेको छ।














