मादलको तालसँगै बाँच्दैछ जीवन : अपाङ्गता जितेका सुन्दर सुनारको कथा”

मादलको तालसँगै बाँच्दैछ जीवन : अपाङ्गता जितेका सुन्दर सुनारको कथा”

नवराज पौडेल कपिलवस्तु,
जेठ २० गते मंगलबार ।
शरीर चल्दैन, खुट्टा सधैं साथ दिँदैन। तर मादल बनाउने हात आज पनि उस्तै गतिमा चल्छ। साठी वसन्त पार गरेका कपिलवस्तुका सुन्दर सुनारका लागि जीवन भनेको ताल हो—मादलको ताल। र सिप भनेको श्रद्धा—आत्मा भन्दा छुट्टै छैन।
शिवराज नगरपालिका–३ मा बसोबास गर्ने सुन्दर सुनारको हातमा मादल बनाउने सिप छ, तर त्यो सिप अब उनका नाति–नातिनीको पुस्तामा जोगिने कि हराउने भन्ने अन्योल उनीसँगै बाँचेको छ।
१५ वर्षको उमेरमा उनले पहिलोपटक काठ काटेका थिए, मादल बनाउन। त्यो समय उनको लागि खेलौना जस्तै लाग्थ्यो—काठमा ढुकेर छाला कस्ने, धागो तान्ने, अनि आफ्नै हातले बनाएको मादलको पहिलो तालमा गाउँ नाचेको हेर्ने सपना। त्यो सपना आज पनि बिर्सिएका छैनन् उनले। उनले मादल बनाएरै ४५ वर्षदेखि मादल बनाउँदै आएका सुन्दर सुनार भन्छन्, “शरीर कमजोर भयो होला, मन त अझै त्यतिकै बलियो छ। हातहरू अझै मादलका लागि नै बनेका जस्तो लाग्छ।”


११ वर्षको उमेरमा भिरबाट लडेपछि उनका दायाँ खुट्टा असक्त भए, र रिडको हड्डी समेत कमजोर बन्यो। आज पनि उनी सीधा उभिन सक्दैनन्। तर त्यो अपाङ्गता उनको सीपको बाधा बनेन। उल्टै, त्यो बाधालाई उनले आफ्नो कर्मले जिते।
“कहिले हिम्मत हारेन। सबैले काम गर्न सक्दैन भने पनि म भने आफ्नै तरिकाले काम गरिरहेँ,” उनी मुस्कुराउँदै सुनाउँछन्।
गत वर्ष, शिवराज नगरपालिका–३ ले स्थानीय महिला समूह ‘मदवा’लाई पञ्चेबाजा सेट हस्तान्तरण गर्‍यो। त्यही सेटमा सामेल थिए सुन्दर सुनार पनि—सनइ वादनको जिम्मेवारीसहित।
“हामीले एउटा सनइ किन्यौँ—११ हजारमा अनि मनमा आयो, किन न म आफै बनाऊँ?”त्यही दिनदेखि सुरु भयो नयाँ यात्रा आज उनी पाँच वटा सनइ बनाइसकेका छन्। तर समस्या उस्तै छ—बजार छैन। “कसलाई बेच्ने, कहाँ लैजाने—थाहा छैन,” उनी भन्छन्।
जीवनको यो मोडमा आइपुग्दा सुन्दर सुनारको चाहना ठूलो छैन। उनी आफ्नो सीप सँगसँगै मर्न चाहँदैनन्।”म चाहन्छु, युवाले मादल बनाउने सिकून। मेरो सिप पुस्तान्तरण गर्नका  लागि पालिकाबाट केही सहयोग आवश्यक रहेको उनले बताए
सुन्दर सुनारका मादल र सनइ केवल बाजा होइनन्—त्यो उनको जिन्दगीको दस्तावेज हुन्। उनको हातको रेखामा नक्सिएको छ सीपको गाथा। जहाँ धेरैले आधुनिकताको लहरमा आफ्ना परम्परा बिर्सिरहेका छन्, त्यहाँ उनले आफ्नो सिपसँग आत्मा जोडेका छन्।
शिवराज नगरपालिका र वडाका लागि यो अवसर हो—एक अपाङ्ग, सीपशाली बृद्धको चाहनालाई कदर गर्ने। यदि तालिम, सहुलियत र बजारको व्यवस्था मिल्यो भने सुनारको सपना मात्र होइन, सम्पूर्ण क्षेत्रको सांस्कृतिक पहिचान पनि बाँच्नेछ।
सुन्दर सुनारले मादलमा कसेको छाला जस्तो जीवनलाई पनि कसेका छन्—धेरै चोटपटक, कमजोरी र अभावका बावजुद। उनी हिँड्न सक्दैनन्, तर थर्काउन सक्छन्—मादलको तालमा, सीपको सारमा र प्रेरणाको आवाजमा यदि हाम्रा गाउँ–बस्तीमा रहेका सुन्दर सुनारहरूलाई हामीले सुन्न सक्यौँ भने मात्र परम्परा जोगिन्छ।र हो, शायद त्यो दिन मादलको ताल फेरि गुञ्जनेछ—गाउँभरि ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ