शिवराजमा अतिक्रमित जग्गा हटाउने तयारी : पहिलो प्रहार जवभारी स्कुल
कपिलवस्तु — शिवराज नगरपालिकाले आफ्नो क्षेत्रभित्र अतिक्रमण भएका सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया अगाडि बढाएको छ। यस अभियानअन्तर्गत पहिलो चरणमा वडा नं. ७ स्थित श्री शेष आधारभूत विद्यालय (जवभारी) क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा, भवन तथा भौतिक पूर्वाधारको संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको उल्लेख गर्दै नगरपालिकाले सोही कानुनी आधारमा अतिक्रमण हटाउन पहल गरेको जनाएको छ।
नगरपालिकाका अनुसार कित्ता नं. ५४ (क्षेत्रफल ०–९–१–०) भित्र पर्ने सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाई ७ दिनभित्र खाली गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ। उक्त क्षेत्रमा विद्यालयसँगै निजी घरसमेत निर्माण गरी भोगचलन हुँदै आएको पाइएको छ।
तत्कालीन श्री ५ सरकारले विद्यालयलाई भोगचलनका लागि उपलब्ध गराएको जग्गा व्यक्तिले कब्जा गरेको स्थानीय स्रोतको भनाइ छ। यसअघि पनि नगरपालिका कार्यालयले सूचना जारी गरेपनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन।
नगर प्रमुख अजय थापाले शिवराजभित्र रहेका सम्पूर्ण अतिक्रमित सार्वजनिक सम्पत्ति—जस्तै विद्यालय क्षेत्र, राजकुलो तथा अन्य सरकारी जग्गा—क्रमशः खाली गराइने स्पष्ट पारेका छन्।
नगरपालिकाले तोकिएको समयभित्र जग्गा खाली नगरे प्रचलित कानूनअनुसार बलपूर्वक हटाइने चेतावनी दिएको छ। साथै, सो क्रममा लाग्ने खर्च, क्षतिपूर्ति तथा अन्य जिम्मेवारी सम्बन्धित व्यक्तिबाटै असुल गरिने पनि सूचनामा उल्लेख गरिएको छ।














