जनजाति र दलित अधिकारको कार्यान्वयनमा चुनौती अझै कायमै
नवराज पौडेल कपिलवस्तु
कानुनमै सुनिश्चित गरिएका अधिकार व्यवहारमा लागू हुन नसकेको निष्कर्षसहित कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा जनजाति र दलित समुदायसम्बद्ध दुई संगठनले संयुक्त रूपमा ४०औँ स्थापना दिवस मनाएका छन्।
अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले संविधान र कानुनले व्यवस्था गरेका आरक्षण तथा हक–अधिकार कार्यान्वयनमा कमजोरी रहेको औंल्याए। उनीहरूले नीतिगत उपलब्धि भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा लक्षित समुदायले अपेक्षित लाभ पाउन नसकेको धारणा राखे।
सम्मेलनका केन्द्रीय सदस्य केहर सिंह पुन मगरले जनजाति समुदायका अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष आवश्यक रहेको बताए। “कानुनी रूपमा केही अधिकार स्थापित भए पनि व्यवहारमा पूर्ण कार्यान्वयन हुन सकेको छैन, उनले भने, “यसका लागि संगठित दबाब अपरिहार्य छ।

जातीय समता समाजका केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष दिलबहादुर विकले दलित आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै चेतनास्तर अभिवृद्धिमा संगठनको भूमिका उल्लेखनीय रहेको बताए। सामाजिक विभेद अन्त्यका लागि जागरण र संगठन विस्तार अपरिहार्य छ उनले भने।
राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केर सिंह ‘अदै’ले जनजाति र दलित आन्दोलनले नेपालको जनतान्त्रिक संघर्षमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै वर्गीय दृष्टिकोणबाट मात्रै स्थायी समाधान सम्भव हुने तर्क गरे।
कार्यक्रममा अखिल नेपाल महिला संघकी चनकिया चौधरीले पनि आफ्नो धारणा राखेकी थिइन्। कार्यक्रम अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष नरबहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। सञ्चालन शिवराज नगर समिति अध्यक्ष शिवप्रसाद थारुले गरेका थिए भने स्वागत मन्तव्य जातीय समता समाजका जिल्ला अध्यक्ष रामबहादुर विकले दिएका थिए।














