थारु शिक्षक सम्मानित, शिक्षा र पहिचानको मुद्दामा जोड

थारु शिक्षक सम्मानित, शिक्षा र पहिचानको मुद्दामा जोड

नवराज पौडेल कपिलवस्तु ,,

कपिलवस्तुको शिवराज नगरपालिका–१, उमरीस्थित थारु संग्रहालय आइतबार फरक ऊर्जा र भावनाले भरिएको थियो। परम्परागत पहिरन, थारु संस्कृति झल्काउने वातावरण र एकै ठाउँमा भेला भएका शिक्षक–शिक्षिकाबीच सम्मानको क्षणले समुदायको आत्मगौरव झल्काइरहेको थियो। शिक्षण पेशामा आवद्ध ४६ जना थारु शिक्षक–शिक्षिकालाई सम्मान गर्दै थारु कल्याणकारी सभाले नयाँ वर्ष २०८३ को शुभकामना पनि साटासाट गर्‍यो।
कार्यक्रम औपचारिक सम्मानमा सीमित रहेन, बरु थारु समुदायको शिक्षा, पहिचान र प्रतिनिधित्वबारे गम्भीर बहसको थलोसमेत बन्यो। सभाका अध्यक्ष प्रकाश चौधरीका अनुसार, समुदायभित्रै शिक्षामा योगदान पुर्‍याइरहेका व्यक्तिहरूलाई चिन्ने र चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारुले शिक्षा र पहिचानलाई छुट्टै हेर्न नमिल्ने स्पष्ट धारणा राखिन्। उनले भनिन्, “हामीले आफ्नै भाषा, संस्कृति र पहिचानलाई बेवास्ता गर्दै शिक्षा अगाडि बढाउन खोज्यौं भने त्यो अधुरो हुन्छ। थारु समुदायका शिक्षकहरू पाठ पढाउने होइनन्, उनीहरू आफ्नै पहिचान जोगाउने अगुवा पनि हुन्। उनले स्थानीय तहले नीतिगत रूपमा थारु भाषाको संरक्षण र प्रवर्द्धनमा ठोस पहल गर्नुपर्ने आवश्यकता औंल्याइन्।
वडा नं. २ का अध्यक्ष रामबहादुर चौधरीले पनि भौगोलिक र भाषिक विविधताबीच एकताको खाँचो औंल्याउँदै समुदायको पहुँच विस्तारमा जोड दिए। कार्यक्रममा सहभागी अन्य वक्ताहरूले शिवराज क्षेत्रमा थारु समुदायको उल्लेखनीय जनसंख्या भए पनि नीति निर्माण र नेतृत्व तहमा प्रतिनिधित्व कम रहेको भन्दै चिन्ता व्यक्त गरे।
शिक्षक सिताराम चौधरीले शिक्षा क्षेत्रमा अपेक्षित गतिमा प्रगती हुन नसकेपनी अब सामूहिक प्रयास बिना परिवर्तन सम्भव नभएको बताए। हामीले आफैंलाई पनि सुधार्नुपर्छ, अनि मात्र समाज बदलिन्छ, उनले भने।
कार्यक्रममा थारु समुदायका अग्रज, बरघर तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता थियो। सम्मानित शिक्षकहरूका अनुहारमा देखिएको गर्व र समुदायप्रतिको प्रतिबद्धताले एउटा सन्देश दिइरहेको थियो—पहिचान र शिक्षाको यात्रामा अझै धेरै दूरी तय गर्न बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित खवर