सौर्य ऊर्जासँगै उज्यालिँदै बस्ती: परियोजनाको झन्डै डेढ करोड सामाजिक क्षेत्रमा लगानी

सौर्य ऊर्जासँगै उज्यालिँदै बस्ती: परियोजनाको झन्डै डेढ करोड सामाजिक क्षेत्रमा लगानी
नवराज पौडेल कपिलवस्तु ,,
​कपिलवस्तुको शिवराज नगरपालिका–६, मजगवाँका स्थानीयका लागि अहिले घाम केवल शक्ति र तापको स्रोत मात्र रहेन, यो गाउँको मुहार फेर्ने माध्यम पनि बनेको छ। पशुपती रिन्यूएबल्स लिमिटेड ले यहाँ १० मेगावाट र १५ मेगावाट क्षमताका दुई ठूला सौर्य ऊर्जा परियोजना निर्माण सुरु गरेसँगै यस क्षेत्रमा विकासका नयाँ लहरहरू देखिन थालेका छन्।

परियोजनाले विद्युत उत्पादनको लक्ष्य मात्र राखेको छैन, स्थानीय समुदायको जीवनस्तर सुधार्न झण्डै १ करोड ४६ लाख रुपैयाँ भन्दा बढीको सामाजिक उत्तरदायित्व (CSR) का कार्यक्रमहरू सञ्चालन गरेर निजी क्षेत्र र समुदायबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ। कम्पनीले हालै सम्पन्न गरेका यी गतिविधिहरूको उच्च कदर गर्दै शिवराज नगर कार्यपालिकाले कम्पनीका पदाधिकारीहरूलाई औपचारिक रूपमै सम्मान गरेको छ।
​पछिल्लो समय स्थानीय श्री आधारभूत विद्यालयको दृश्य पूर्णतः फेरिएको छ। कम्पनीले ८९ लाख १४ हजार ८५५ रुपैयाँको ठूलो लागतमा निर्माण गरिदिएको भव्य बहुउद्देश्यीय हलले विद्यार्थी र समुदायका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ। विद्यालयकै पूर्वाधार अन्तर्गत ३ लाख रुपैयाँ खर्चेर क्षतिग्रस्त पर्खाल मर्मत गरिएको छ भने विपन्न बालिका लक्षित छात्रवृत्ति कार्यक्रम मार्फत ६० हजार रुपैयाँ वितरण गरिएको छ। त्यस्तै, युनिसेफको वास कार्यक्रमसँगको सहकार्यमा ५ लाख २४ हजार ६४० रुपैयाँ बराबरको स्वास्थ्य तथा सरसफाइ सुधार कार्यक्रम सञ्चालन गरी विद्यालयमा शौचालय निर्माण र ११ घरधुरीलाई शौचालय सामग्री प्रदान गरिएको छ।
​कुनै समय साँझ परेपछि सुनसान हुने धरमनगर चोक र मजगवाँका सडकहरू अहिले राति पनि झलमल्ल देखिन्छन्। कम्पनीले धरमनगर चोकमा ८ लाख १९ हजार रुपैयाँको लागतमा अत्याधुनिक हाई मास्ट बत्ती र परियोजना क्षेत्रका विभिन्न बस्तीमा १४ लाख ३६ हजार ३०० रुपैयाँ खर्चेर ६५ वटा सडक बत्ती जडान गरेपछि गाउँको रौनक नै बदलिएको हो। खानेपानीको समस्या भोगिरहेका मजगवाँ र कुदरवेटुवा बस्तीमा ७ लाख ८२ हजार रुपैयाँको लागतमा जडान गरिएको शुद्धीकरण प्रणालीले स्थानीयलाई स्वच्छ पानीको पहुँचमा ल्याएको छ भने १ लाख ५२ हजार २५० रुपैयाँ खर्चिएर आयोजना गरिएको स्वास्थ्य शिविरबाट ३५० जनाले सेवा पाएका छन्।
​कम्पनीले मानवीय क्षमता विकासमा पनि मोटो रकम खर्चिएको छ। राप्ती टेक्निकल स्कूलमार्फत ७ लाख १३ हजार ३४० रुपैयाँमा १८ जना युवालाई विल्डिङ इलेक्ट्रिसियन र ६ लाख ८२ हजार ५६२ रुपैयाँमा २४ जना महिलालाई सिलाइ कटाइ तालिम तथा मेसिन वितरण गरिएको छ। तालिमप्राप्त व्यक्तिहरूलाई बजार पहुँच सहज बनाउन थप ३ लाख ९३ हजार ९१८ रुपैयाँको परामर्श कार्यक्रम समेत गरिएको छ। यसका साथै ४ लाख ९८ हजार ८९५ रुपैयाँको लागतमा धरमनगर र मजगवाँका स्थानीय तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गरिएको छ। कृषकहरूका लागि पाइप वितरण, ४ लाख रुपैयाँ बराबरको वृक्षारोपण र लागुऔषध विरुद्धको सचेतना कार्यक्रमले समुदायमा थप सकारात्मक प्रभाव पारेको छ।

​सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख अजय थापाले कम्पनीले गरेको यो झण्डै डेढ करोडको लगानी अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले पालिका भित्रका अन्य उद्योगहरू पनि नगरपालिकासँग समन्वय गरेर अघि बढिरहेको र यस्तो सहकार्यले विकासमा टेवा पुग्ने बताउनुभयो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे र चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले समेत कम्पनीको योगदानको चर्चा गर्दै विकास निर्माणमा निजी क्षेत्र र स्थानीय सरकारबीचको समन्वयको महत्वमाथि प्रकाश पार्नुभएको थियो।
परियोजना सम्पन्न हुँदै गर्दा उत्पादन हुने २५ मेगावाट विद्युतले राष्ट्रिय प्रसारणमा योगदान दिने त छँदैछ, त्योभन्दा अघि नै मजगवाँ र धर्मनगरका बासिन्दाको जीवनमा आएको यो परिवर्तनले विकासको नयाँ भविस्य लेखेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ