देबिपुरमा युनिसेफको ३५ लाख लागतमा निर्माण भएको पानी ट्यांकी अलपत्र ।।
कपिलवस्तुको शिवराज नगरपालिका–८ देबिपुर गाउँमा युनिसेफको ३५ लाख रुपैयाँ लगानीमा २०७६ सालमा निर्माण गरिएको पानी आपूर्ति योजना पाँच वर्षदेखि अलपत्र परेको छ। सुरुमा पाइप बिछ्याएर १२५ घरधुरीमा खानेपानी पुर्याउने योजना बनाइएको भए पनि अहिले पानी ट्यांकी र पाइप दुवै प्रयोग विहीन छन्।
योजना निर्माणपछि नियमित मर्मत र सञ्चालनका लागि बजेट युनिसेफले राख्नुपर्ने थियो। तर, स्थानीय निकायले पटक–पटक आग्रह गर्दा पनि युनिसेफले त्यसतर्फ ध्यान नदिएको भन्दै नगरपालिकाले गुनासो गरेको छ।
नगरप्रमुख अजय थापाले आफूले नगर इन्जिनियरलाई समन्वय गर्न आग्रह गरेको र युनिसेफका प्रतिनिधि राजेश चौधरीलाई समेत जानकारी गराइएको तर प्रत्यक्ष सहयोग प्राप्त नभएको स्पष्ट पार्नुभयो “योजना सञ्चालन गर्न नगरपालिका एक्लैले खर्च गर्न सक्ने अवस्था छैन। युनिसेफले निरन्तर बजेट उपलब्ध गराउनुपर्ने थियो थापाले भन्नू भयो ।
पूर्व कार्यपालिका सदस्य निर्मला सुनारले पनि युनिसेफजस्तो अन्तर्राष्ट्रिय निकायले सुरु गरेको कामलाई अलपत्र पार्नु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गर्नुभयो । स्थानीय चुनाव २०७९ मा नि यो कुरा उठाइयो, तर युनिसेफले न बजेट राख्यो, न योजना सम्हाल्ने प्रयास गर्यो सुनारले भन्नू भयो ।
स्थानीयवासीहरूले युनिसेफसँग योजना सुरु गरियो भने त्यसको दीर्घकालीन सञ्चालन र मर्मतको जिम्मेवारीसमेत लिनुपर्ने सुझाव दिदै काम पूरा गर्न आग्रह गरेका छन ।
“हामीले युनिसेफलाई विश्वास गरेर आश गरेका थियौं, तर अहिले ट्यांकी खाली छ, पाइपमा पानी छैन, अनि १२५ घरधुरी धेरैतिर कुवा र इनारमा निर्भर छन्,” देबिपुरका एक स्थानीय बासिन्दाले गुनासो गरे।
नगरपालिकाले अब युनिसेफसँग पुनः औपचारिक पत्राचार गरेर तत्काल बजेट व्यवस्थापन गर्न दबाब दिने तयारी गरेको जनाएको छ।















