कोरियन भाषा परीक्षाका लागि ५ हजार ३सय कोटाको आवेदन खुल्यो ।

काठमाडौ –
कोरियन रोजगारी प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ईपीएस कोरिया शाखाले आवेदन खुला गर्दै नेपाली श्रमिकहरूका लागि कोरियामा रोजगारीको ढोका फेरि एकपटक खोलेको हो।

एचआरडी कोरियाले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदक माग गरेको छ। पहिलो चरणको भाषा परीक्षाका लागि यसपटक कुल ५ हजार ३ सय कोटा छुट्याइएको छ। तीमध्ये ३ हजार ५ सय कोटा उत्पादनमूलक र १ हजार ८ सय कोटा कृषि तथा पशुपालन क्षेत्रका लागि निर्धारण गरिएको हो।

उम्मेदवारहरूले एउटै क्षेत्रमा मात्र आवेदन दिन पाउनेछन्। भाषा परीक्षामा सफल भएकाहरूले मात्रै दोस्रो चरणको सीप परीक्षण र क्षमता परीक्षणमा सहभागी हुन पाउनेछन्। यी सबै चरण पार गरेपछि मात्रै उनीहरू रोजगार आवेदनका लागि योग्य मानिनेछन्।

आवेदन दिने व्यक्ति १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, कोरियामा अवैधानिक बसोबासको इतिहास नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, र नेपाल सरकारले अन्य देश जान प्रतिबन्ध नलगाएको व्यक्तिले मात्र आवेदन दिन सक्नेछन्।

आवेदन फारम साउन २६ गतेदेखि ३१ गतेसम्म दिन सकिनेछ भने परीक्षा काठमाडौंमा हुनेछ। कोरियामा रोजगारको अवसर खोजिरहेका नेपाली युवाका लागि यो फेरि एक महत्वपूर्ण अवसर भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ