शिवराजका कक्षा १२ नतिजा सार्वजनिक: ५१% मात्र उत्तीर्ण, नमुना विद्यालयको कमजोर प्रदर्शन ।

शिवराजका कक्षा १२ नतिजा सार्वजनिक: ५१% मात्र उत्तीर्ण, नमुना विद्यालयको कमजोर प्रदर्शन ।।

लोक सञ्चार अन्लाईन , क.व
शिवराज नगरपालिका अन्तर्गत रहेका आठवटा माध्यमिक विद्यालयहरूको कक्षा १२ (एसएलसी) परीक्षा नतिजा सार्वजनिक भएको छ। यसपटकको नतिजाले नगरका विद्यालयहरूबीचको शैक्षिक असमानता झनै स्पष्ट पारेको छ।
नगरका अनुसार कूल ९४२ जना विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये ४८२ जना (५१%) विद्यार्थी मात्र उत्तीर्ण हुन सकेका छन् भने बाँकी ४६० जना (४९%) अनुत्तीर्ण भएका छन्। निशुल्क शिक्षा लागु भएपछि गुणस्तर खस्कने आँकलन गरिँदै आएको थियो, र यस वर्षको नतिजाले त्यसैको पुष्टि गरेको देखिन्छ।

सर्वाधिक परीक्षार्थी सहभागी नेपाल आदर्श माध्यमिक विद्यालय, शिवपुरबाट ४३२ जना विद्यार्थी परीक्षा दिएका थिए। तर, तीमध्ये १६५ जना मात्र उत्तीर्ण भए। ३८% को झिनो सफलता दरसहित नगरकै सबैभन्दा कमजोर प्रदर्शन गर्ने विद्यालय बन्न पुगेको छ। नमुना विद्यालयको दर्जा पाएको भए पनि यथार्थमा विद्यालयले अपेक्षाअनुसारको नतिजा दिन सकेन, जसले अभिभावक र शिक्षकसमेत चिन्तित बनेका छन्।

सामुदायिक विद्यालयमध्ये जनचेतना सामुदायिक माविले उत्कृष्ट प्रदर्शन गर्दै ६५ जना मध्ये ५६ जना विद्यार्थीलाई उत्तीर्ण गराएको छ। ८६% सफलता दरसहित विद्यालय सामुदायिकतर्फ पहिलो र समग्र नगरभित्र दोस्रो स्थानमा रहेको छ। यो सुधारलाई विद्यालय व्यवस्थापन, अभिभावक सहभागिता र शिक्षण पद्धतिको सकारात्मक परिणामका रूपमा हेरिएको छ।

नगरपालिकाको एक मात्र संस्थागत विद्यालय आवर मदल्याण ऐकेडमीले २४ मध्ये २२ जना विद्यार्थीलाई उत्तीर्ण गराउँदै नगरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ। ९२% सफलता दरसहित ऐकेडमीले शिक्षण गुणस्तरमा आफूलाई स्थापित गरेको छ।
रंगीलाल मावि: २४ जना मध्ये २० उत्तीर्ण (83%), प्रकाश मावि, सुन्दरीडाँडा: ८६ विद्यार्थीमध्ये ५२ जना उत्तीर्ण,त्रिभुवन आदर्श मावि: ३४ विद्यार्थीमध्ये २० उत्तीर्ण, समयथान मावि, खरेन्द्रपुर: १६२ विद्यार्थीमध्ये ८७ उत्तीर्ण , राष्ट्रिय मावि: ११५ विद्यार्थीमध्ये ६० उत्तीर्ण भएका छन ।
शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्मीले नतिजा सार्वजनिक गर्दै विद्यालयहरूलाई आगामी दिनमा गुणस्तरीय शिक्षण विधि अपनाउनेतर्फ लाग्न सुझाव दिएका छन्। उनले नतिजा आत्ममूल्यांकन गर्ने अवसर भएको भन्दै सबै शिक्षक, अभिभावक र सरोकारवालाहरूलाई सहकार्यमा जुट्न आग्रह गरेका छन्।
यस वर्षको नतिजाले स्पष्ट देखाएको छ—सिर्जनशील शिक्षण विधि, उत्तरदायित्वपूर्ण नेतृत्व, र अभिभावक सहभागिता भएका विद्यालयले राम्रो नतिजा दिइरहेका छन्। अर्कोतर्फ, नमुना भनिएका विद्यालयले सुधारको खाँचो महसुस गरिरहेकाछन्।
यस नतिजाले नगरपालिकालाई शैक्षिक नीति पुनर्विचार गर्न, कमजोर विद्यालयहरूमा विशेष ध्यान दिन, र सफल अभ्यासहरूलाई सबैमा विस्तार गर्न सघाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर