दुर्गन्धमा पढ्न बाध्य बालबालिका: शिक्षा शाखा निद्रामा, सितलापुर विद्यालय बेहाल
नवराज पौडेल कपिलवस्तु ,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय सितलापुर मा रहेको शौचालयको अवस्था अत्यन्तै जिर्ण, फोहोर र दुर्गन्धित बनेको छ। विद्यालयजस्तो संवेदनशील स्थानमा यस्तो अवस्था हुनु गम्भीर लापरवाहीको रूपमा हेरिएको छ।
शौचालयभित्र पानीको अभाव, थुप्रिएको फोहोर र असह्य दुर्गन्धका कारण विद्यार्थीहरू प्रयोग गर्न नसक्ने अवस्थामा पुगेका छन्। यसले प्रत्यक्ष रूपमा बालबालिकाको स्वास्थ्यमा जोखिम बढाएको छ।
तर यति गम्भीर समस्याप्रति सम्बन्धित निकाय भने बेखबर जस्तै देखिएको छ। नगरपालिकाको शिक्षा शाखाबाट नियमित अनुगमन हुनुपर्ने भए पनि व्यवहारमा कुनै प्रभावकारी निगरानी नदेखिएको स्थानीयको गुनासो छ। शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्मा को जिम्मेवारीप्रति प्रश्न मात्र होइन, गम्भीर आलोचना समेत हुन थालेको छ।
स्थानीयहरू भन्छन् विद्यालयको आधारभूत सरसफाइ जस्तो न्यूनतम विषयमा समेत ध्यान नदिनु नेतृत्वको असफलता हो।
यता विद्यालयका प्रधानाध्यापक कमल प्रसाद पौडेल ले विद्यालय बिदा रहेको र सञ्चालन भएपछि सरसफाइ गरिने बताएका छन्। तर सरोकारवालाहरूका अनुसार बिदाको बहाना बनाएर आधारभूत सरसफाइ समेत नगर्नु गैरजिम्मेवार कदम हो।
स्थानीय अभिभावकहरूले शिक्षा शाखालाई तुरुन्तै सक्रिय भई अनुगमन, सरसफाइ र मर्मत कार्य अगाडि बढाउन माग गरेका छन्। यदि यस्ता लापरवाही यथावत् रहे, सम्बन्धित निकायविरुद्ध थप दबाब सिर्जना गरिनेछ बताइएको छ ।














