शिवराजमा अशक्त नागरिकलाई सहायक सामग्री वितरण, छुटेका लाभग्राहीलाई पनि उपलब्ध गराइने ।।
नवराज पौडेल कपिलवस्तु ,,
कपिलवस्तुको शिवराज नगरपालिकाले अपाङ्गता भएका तथा अशक्त नागरिकलाई लक्षित गर्दै सहायक सामग्री वितरण गरेको छ। नगरपालिकाले ४ वटा ट्राइसाइकल, ११ वटा ह्विलचेयर, ३ वटा श्रवणयन्त्र (हेडफोन), १ वटा वाकर र ३ वटा छडी वितरण गरेको हो।
सहायक सामग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख अजय थापाले अपाङ्गता भएका नागरिकलाई सम्मानपूर्वक र आत्मनिर्भर जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको बताउनु भयो । उहाँले आवश्यकताका आधारमा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्दै कुनै कारणवश यसपटक छुटेका लाभग्राहीलाई समेत सहायक सामग्री उपलब्ध गराइने प्रतिबद्धता जनाउनु भयो ।
नगरपालिकाभित्र रहेका वास्तविक आवश्यकता भएका कुनै पनि अशक्त वा अपाङ्गता भएका नागरिक सहायक सामग्रीबाट वञ्चित हुनु पर्दैन। यसपटक छुट्नुभएका नगरवासीलाई समेत पहिचान गरी आगामी चरणमा आवश्यक सामग्री उपलब्ध गराउनेछौं,” नगर प्रमुख थापाले भन्नू भयो ।
नगर उपप्रमुख शिवकुमारी चौधरीले अपाङ्गता भएका नागरिकको पहुँच, अधिकार र सम्मान सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनु भयो । उहाँले सहायक सामग्रीले लाभग्राहीको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आवश्यकतामा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनु भयो।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले स्थानीय तहले नागरिकको आवश्यकता अनुसार सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले अपाङ्गता भएका नागरिकलाई आत्मविश्वासका साथ समाजमा सक्रिय हुन प्रेरणा मिल्ने बताउनु भयो । उनले वडास्तरबाट पनि वास्तविक लाभग्राहीको पहिचान गरी आवश्यक सहयोगका लागि निरन्तर पहल गरिने जानकारि दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, अपाङ्गता भएका नागरिक तथा उनीहरूका अभिभावकको सहभागिता रहेको थियो। सहायक सामग्री प्राप्त गरेका लाभग्राहीहरूले नगरपालिकाको पहलले आफ्नो दैनिक जीवनमा सहजता थपिएको भन्दै खुसी व्यक्त गरेका छन्। कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख जिवा केसिको सन्चालनमा सम्पन्न भएको हो ।














