कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा उद्घोषण तालिम सम्पन्न भएको छ। मेरो साथी एफएम ९२.८ मेगाहर्जको आयोजना तथा वडा नम्बर ३ को सहकार्यमा तालीम सम्पन्न भएको हो ।
तालिममा २५ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममार्फत स्थानीय स्तरमै युवाहरू तथा सञ्चारमा रुचि राख्ने व्यक्तिहरूलाई उद्घोषण कला, सार्वजनिक प्रस्तुतीकरण, आत्मविश्वास विकास तथा प्रभावकारी सञ्चारका सीपहरू प्रदान गरिएको हो।
कार्यक्रमको अध्यक्षता मेरो साथी एफएमका प्रबन्धक चिन्ता परियारले गर्नुभएको थियो। उहाँले स्थानीय सञ्चार माध्यमले समुदायको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै यस्ता तालिमहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष टेकलाल सापकोटाले उद्घोषण तथा सञ्चार सीप आजको आवश्यकता भएको उल्लेख गर्दै वडा कार्यालयले यस्ता सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले भन्नुभयो, “स्थानीय युवाहरूलाई स्वरोजगार, आत्मविश्वास र नेतृत्व क्षमतासँग जोड्न यस्ता तालिमहरू अत्यन्तै आवश्यक छन्। वडा कार्यालयले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनेछ।
तालिमका प्रशिक्षक राजु खराले सहभागीहरूलाई व्यवहारिक अभ्याससहित उद्घोषण कला, आवाजको उतारचढाव, शब्द चयन, स्टेज प्रस्तुति तथा श्रोता समक्ष प्रभावकारी रूपमा प्रस्तुत हुने तरिकाबारे प्रशिक्षण दिनुभएको थियो।
सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी र व्यवहारिक भएको बताएका छन्। प्रशिक्षार्थी विजय भुसालले तालिमपछि आफूमा बोल्ने आत्मविश्वास बढेको बताउँदै यस्तो अवसरले व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने प्रतिक्रिया दिनुभयो।














