कृष्णनगरको १६ औं अधिवेशन सप्पन्न
कपिलवस्तु — कपिलवस्तुको कृष्णनगर नगरपालिका को १६औँ नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम पारित गर्दै ७० करोड ७९ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
नगरसभामा प्रस्तुत बजेट अनुसार पुँजीगततर्फ २४ करोड ७७ लाख ८६ हजार २ सय ६० रुपैयाँ तथा चालुतर्फ ४६ करोड १ लाख ६७ हजार ३ सय ४० रुपैयाँ विनियोजन गरिएको छ। सभामा आर्थिक विधेयक २०८३/८४ र विनियोजन विधेयक २०८३/८४ समेत पेश गरिएको नगरपालिकाले जनाएको छ।
नगरसभाले नीति तथा कार्यक्रम पारित गर्दै बजेटमाथि विस्तृत छलफलका लागि आगामी असार २९ गते पुनः बैठक बस्ने निर्णय गरेको छ।
नगर प्रमुख रजत प्रताप शाह ले नगरवासीको आवश्यकता र विकास प्राथमिकतालाई केन्द्रमा राखेर बजेट तथा नीति–कार्यक्रम तयार गरिएको बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा रोजगारीका क्षेत्रमा विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै प्रस्तुत बजेटले नगरको समग्र विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

उपप्रमुख आरती देवी चौधरी ले समावेशी विकास, महिला सशक्तीकरण र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्यक्रमहरू तय गरिएको बताइन्। उनले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्।
नगर प्रवक्ता तथा वडा नं. १० का अध्यक्ष हरिपाल चतुर्वेदी ले सीमित स्रोत–साधनका बाबजुद नागरिकका आवश्यकता सम्बोधन हुने गरी योजनाहरू समेटिएको बताए। नगरवासीको सक्रिय सहभागिता र सहयोगबाट नीति तथा कार्यक्रम सफल हुने उनको विश्वास छ।
प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा ले बजेट तथा कार्यक्रम कार्यान्वयनमा पारदर्शिता, सुशासन र वित्तीय अनुशासनलाई विशेष प्राथमिकता दिइने बताए। उनले नगरवासीले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास निर्माण तथा सेवा प्रवाहका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
नगरपालिकाले प्रस्तुत गरेको बजेटलाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रमा केन्द्रित गर्दै आगामी आर्थिक वर्षमा नागरिकमुखी कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको जनाएको छ।














