शिवराजमा शिक्षा शाखाको लापरबाही ,  विद्यार्थीको भविष्यसँग खुलेआम खेलवाड

नवराज पौडेल कपिलवस्तु ।।
बैशाख ०४ गते शुक्रबार
शिवराज नगरपालिका शिक्षा शाखाको चरम लापरबाहीका कारण एक विद्यार्थीको भविष्य नै जोखिममा परेको छ। नगरपालिका–५ स्थित मोदरल्याण्ड विद्यालयमा कक्षा ८ मा अध्ययनरत आदित्य मगरको स्वास्थ्य विषयको उत्तरपुस्तिका हराएपछि उनको नतिजा रोकिएको हो।
गत चैत्र १६ गते समयथान माध्यमिक विद्यालय, खरेन्द्रपुरमा परीक्षा दिएका मगरको कपि नै हराएको भन्दै नगरपालिकाले अहिलेसम्म नतिजा विद्यालयमा पठाएको छैन। नयाँ शैक्षिक सत्र सुरु हुन केही दिन मात्र बाँकी रहँदा पनि सम्बन्धित निकाय मौन बस्नु गम्भीर गैरजिम्मेवारीको नमूना बनेको छ।
विद्यालयका प्रधानाध्यापक कुलराज ढुङ्गानाका  अनुसार मोदरल्याण्डबाट ७६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा ३ जनालाई विषय लागेको छ। तर आदित्यको भने नतिजा नै रोकिनु सामान्य त्रुटि नभई संस्थागत असफलता भएको उनले बताए। पालिकाले नै विद्यार्थीको कपि हराइदिँदा भविष्यसँग सीधै खेलवाड भएको छ ।  उनले  असन्तुष्टि व्यक्त गरे।
झन् विडम्बना त के छ भने शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्माले कपि हराएको विषयमा जिम्मेवारी लिनुको सट्टा ‘स्वास्थ्य विषय लागेको भन्दै पन्छिन खोजेका छन्।  उत्तरपुस्तिका नै हराउने र त्यसपछि झूटो बहाना बनाउने प्रवृत्तिले शिक्षा शाखाको लापरबाही मात्र होइन  गैरजिम्मेवारी र ढाकछोपको संस्कृति समेत उजागर गरेको छ। स्रोतका अनुसार शिक्षा शाखाले आदित्यलाई पास गराउने आश्वासन दिएको भए पनि नतिजा प्रकाशन भने गरेको छैन ।
एकातिर विद्यार्थीको मेहनत र भविष्य जोखिममा पार्ने, अर्कोतर्फ सत्य तथ्य लुकाउने प्रयास गर्ने  यस्तो प्रवृत्तिले स्थानीय सरकारप्रति जनविश्वास गम्भीर रूपमा कमजोर बनाएको छ। यता शाखा प्रमुख पुर्ण बहादुर बिश्वकर्माले भने ग्रेड वृद्धि परिक्षामा सहभागी गराउने जानकारी दिएका छ्न ।

प्रतिक्रिया
सम्बन्धित खवर