प्राविधिक शिक्षा जोगाउन राष्ट्रिय मावि चन्द्रौटाको पहल, नगरपालिकासँग सहयोगको अपेक्षा
नवराज पौडेल चन्द्रौटा कपिलवस्तु
शिवराज नगरपालिकाको पहिलो सीटीईभीटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) सम्बन्धन प्राप्त प्राविधिक शिक्षालय राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटाले सञ्चालन गर्दै आएको तीन वर्षे कम्प्युटर डिप्लोमा कार्यक्रमलाई निरन्तरता दिन स्थानीय सरकारसँग सहकार्य र सहयोगको पहल थालेको छ।
विद्यालयमा आयोजित सरोकारवालाको भेलाले प्राविधिक शिक्षा कार्यक्रमलाई थप सुदृढ र दिगो बनाउन शिवराज नगरपालिकासँग आर्थिक सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ। सहभागीहरूले विद्यालयले विगतदेखि नै स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा गुणस्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै यस कार्यक्रमको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएका छन्।
विद्यालयका अनुसार कम्प्युटर डिप्लोमा कार्यक्रम सञ्चालनका लागि दक्ष प्रशिक्षक, आधुनिक कम्प्युटर प्रयोगशाला, इन्टरनेट सेवा, प्रायोगिक सामग्री तथा प्रशासनिक व्यवस्थापनमा उल्लेख्य खर्च लाग्ने गर्दछ। पछिल्लो समय विद्यार्थी संख्या तथा शुल्क सङ्कलनमा देखिएका चुनौतीका बाबजुद विद्यालयले कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
यस कार्यक्रमबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले सूचना प्रविधि, सरकारी तथा निजी क्षेत्रमा रोजगारी प्राप्त गर्नुका साथै उच्च शिक्षामा समेत सफलता हासिल गरिरहेका छन्। विद्यालयबाट उत्पादन भएका दक्ष जनशक्तिले स्थानीय तथा राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको सरोकारवालाहरूले बताएका छन्।
भेलामा सहभागीहरूले राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटालाई शिवराज नगरपालिकाको प्राविधिक शिक्षाको आधार केन्द्रका रूपमा उल्लेख गर्दै यसको निरन्तरता सम्पूर्ण समुदायको साझा चासो र दायित्व भएको धारणा राखेका छन्। स्थानीय स्तरमै प्राविधिक शिक्षा उपलब्ध हुँदा आर्थिक रूपमा कमजोर तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरू विशेष रूपमा लाभान्वित भएको उनीहरूको भनाइ छ।
भेलाले प्राविधिक शिक्षा कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न नगरपालिकाले विशेष अनुदान तथा आवश्यक सहयोगको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ। साथै आवश्यक समन्वय, सहकार्य र पहलका लागि समिति समेत गठन गरिएको जनाइएको छ।
शिक्षा शाखा प्रमुख, शिवराज नगरपालिका–५ का वडा अध्यक्ष नेत्र बेल्बासे, विद्यालयका पूर्व शिक्षक, पूर्व विद्यार्थी तथा विभिन्न क्षेत्रका समाजसेवी र बुद्धिजीवीहरूको सहभागितामा सम्पन्न भेलाले प्राविधिक शिक्षा कुनै एक विद्यालयको मात्र विषय नभई पालिकाको शैक्षिक, सामाजिक र आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले यसको संरक्षण र विकासमा सबै पक्षले चासो दिनुपर्नेमा जोड दिएको छ।
विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले प्राविधिक शिक्षा कार्यक्रमलाई निरन्तरता दिन स्थानीय सरकारको सहयोग महत्वपूर्ण रहने बताउँदै विद्यालयले छिट्टै नगरपालिकासमक्ष औपचारिक प्रस्ताव पेश गर्ने जानकारी दिनुभयो। उहाँले सामूहिक प्रयास, सहकार्य र स्थानीय सरकारको सहयोगबाट कार्यक्रमलाई अझ प्रभावकारी र दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।














