महिला उद्यमलाई उत्पादनसँग जोडौं : सांसद केसि
लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री अर्जुन कुमार केसीले महिला उद्यमलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । उहाँले समाजका साना तथा कुटिर उद्योगलाई व्यवसायसँग समायोजन गर्दै अगाडि बढे मात्र समाज परिवर्तन सम्भव हुने बताउनुभयो ।
कपिलवस्तुको शिवराज नगरपालिका ३ मा आयोजित सात दिने फिनाइल तथा हार्पिक बनाउने तालिमको समापन समारोहमा बोल्दै सांसद केसीले महिलाहरूले उत्पादन गरेको सामग्रीलाई बजारीकरण गरेर आर्थिक र सामाजिक सशक्तिकरणको मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो ।
शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले महिलाहरूले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्दै स्वरोजगारका अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । नगर प्रमुख थापाले महिलाहरूका साना उत्पादनहरूले बजारीकरण पाए मात्र महिलाहरू आर्थिक रूपमा सक्षम बन्ने बताउनुभयो ।
शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले महिलाहरूलाई स्वरोजगार बनाउनका लागि यस्ता तालिमहरू प्रभावकारी हुने बताउँदै नगरपालिका सधैं यस्तो पहललाई प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो ।
वडा नम्बर ३ का अध्यक्ष टेकलाल सापकोटाले तालिमले महिलाहरूलाई आर्थिक आत्मनिर्भरता र व्यवसायिक सीपको विकासमा योगदान पुर्याएको बताउनुभयो । उहाँले वडा कार्यालयले आगामी दिनमा पनि यस्ता तालिमहरूको आयोजना गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले महिलाहरूलाई सक्षम बनाउन र उद्यमशीलता विकास गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पोखरेलले उत्पादनलाई व्यवसायिक बनाउन बजारीकरण नै प्रमुख चुनौती रहेको बताउनुभयो । उहाँले स्थानीय बजारलाई प्राथमिकता दिएर महिलाहरूका उत्पादनलाई राष्ट्रिय स्तरसम्म पुर्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।
चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेले महिलाहरूले उत्पादन गरेका सामग्रीहरूको बजारीकरणका लागि संघले पनि सहयोग गर्ने बताउनुभयो ।
समयथान माध्यमिक विद्यालयका प्राचार्य गिरिप्रसाद गैरेले तालिम र शिक्षा आपसमा जोडिए मात्र दीर्घकालीन परिवर्तन सम्भव हुने बताउनुभयो ।
व्यापार संघ सहकारी तथा ऋण संस्था लिमिटेडका अध्यक्ष जगत पौडेलले सहकारीको भूमिका महिला सशक्तिकरणका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले महिलाहरूले उत्पादन गरेका सामग्रीहरूलाई व्यवसायिक रूप दिन सहकारीहरूले आर्थिक सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।
मिलिजुली महिला विकास ऋण सहकारी संस्थाकी अध्यक्ष दीपा बेलबासे अधिकारीले तालिमको व्यवस्थापन र सफलतामा सहकारीले खेलेको भूमिकाबारे जानकारी गराउँदै आगामी दिनमा यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
शिवराज नगरपालिकाको वडा नं ३ को आर्थिक सहयोग र मिलिजुली महिला विकास ऋण सहकारी संस्थाको आयोजनामा सम्पन्न उक्त तालिममा स्थानीय महिलाहरूले सहभागीता जनाएका थिए ।।सहभागी महिलाहरूले तालिमबाट फिनाइल र हार्पिक बनाउने नयाँ सीप सिकेको र यसलाई व्यवसायिक रूपमा अघि बढाउने योजना बनाएको बताए ।
उक्त समापन समारोह कार्यक्रम सो सञ्चालन अनिता भुसालले गर्नुभएको थियो । कार्यक्रममा सहभागी भएका अतिथिहरुलाई महिलाहरूले उत्पादन गरेको हार्पिक र फिनाइल उपहार स्वरूप प्रदान गरिएको थियो ।













