प्रश्न गर्ने पुस्ता र सुन्ने जनप्रतिनिधि

प्रश्न गर्ने पुस्ता र सुन्ने जनप्रतिनिधि
नवराज पौडेल कपिलवस्तु,
स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो भन्ने भनाइ धेरै सुनिन्छ। तर त्यो भनाइ व्यवहारमा कति लागू हुन्छ भन्ने कुरा यस्ता कार्यक्रमले प्रमाणित गर्छन्। शिवराज नगरपालिका वडा नम्बर ३ मा आयोजित  वडा अध्यक्ष सङ्ग विद्यार्थी  कार्यक्रम औपचारिक भेटघाट थिएन, यो भविष्यका नागरिक र वर्तमान नेतृत्वबीचको प्रत्यक्ष संवाद थियो।
विद्यालयका विद्यार्थीहरू सामान्यतया सुन्ने भूमिकामा हुन्छन्। शिक्षकले पढाउँछन्, अभिभावकले सुझाव दिन्छन् र जनप्रतिनिधिले भाषण गर्छन्। तर यसपटक दृश्य फरक थियो। विद्यार्थीहरूले प्रश्न गरिरहेका थिए र जवाफ दिन वडा अध्यक्ष टेकलाल सापकोटा उपस्थित थिए।

हामीलाई कम्प्युटर शिक्षा कहिले सुरु हुन्छ ?”, “टिनको छानोबाट कहिले मुक्त हुन्छौं ?”, “शिक्षाका लागि वडाले के–के गरेको छ ?” जस्ता प्रश्नहरूले विद्यार्थीहरू आफ्नो अधिकार, अवसर र भविष्यप्रति सचेत बन्दै गएको सन्देश दिएका छन्।
टुडे सञ्चार ग्रुप प्रालिको आयोजना तथा वडा नम्बर ३ को सहयोगमा शिवराज नगरपालिका वडा नम्बर ४ मा रहेको समयथान बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा दुर्गा भगवती माध्यमिक विद्यालय, समयथान माध्यमिक विद्यालय र आधारभुत विद्यालय मदवाका ७० जना विद्यार्थी सहभागी थिए।


उनीहरूका प्रश्न जिज्ञासा थिएनन्, ती गुणस्तरीय शिक्षाप्रतिको अपेक्षा र अवसरको खोजीका अभिव्यक्ति थिए।
वडा अध्यक्ष सापकोटाले आफ्नो दुई कार्यकालमा विद्यालयको भौतिक पूर्वाधार सुधारमा उल्लेखनीय काम भएको दाबी गरे। खानेपानी व्यवस्थापन, चुइने छाना हटाउने काम, विद्युत् जडान तथा कक्षाकोठा सुधारका योजनाले विद्यालयको आधारभूत अवस्था परिवर्तन गरेको उनको भनाइ थियो। वास्तवमा, शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको सुधार आफैंमा महत्वपूर्ण उपलब्धि हो। सुरक्षित भवन, स्वच्छ खानेपानी र उज्यालो कक्षाकोठा गुणस्तरीय शिक्षाको आधार हुन्।
तर विद्यार्थीहरूले उठाएका प्रश्नले अर्को वास्तविकता पनि देखाउँछ

पूर्वाधार निर्माण मात्र पर्याप्त छैन। आजको पुस्ता कम्प्युटर शिक्षा, प्रविधिमैत्री सिकाइ, प्रयोगशाला, पुस्तकालय र प्रतिस्पर्धी शैक्षिक वातावरण खोजिरहेको छ। उनीहरू विद्यालय भवन होइन, अवसर खोजिरहेका छन्। त्यसैले अब स्थानीय सरकारको ध्यान भौतिक संरचनासँगै शिक्षाको गुणस्तर र प्रविधिमा केन्द्रित हुनुपर्ने आवश्यकता देखिन्छ।
कार्यक्रममा सहभागी तीनवटै विद्यालयका प्रधानाध्यापकहरूले पनि विद्यालयका उपलब्धि र चुनौतीबारे खुला रूपमा धारणा राखे। उनीहरूले पूर्वाधार सुधारको प्रशंसा गरे पनि प्रविधि, शैक्षिक सामग्री र गुणस्तरीय शिक्षण व्यवस्थापनमा थप लगानी आवश्यक रहेको औंल्याए। यसले शिक्षा सुधार सरकारको प्रयासले मात्र सम्भव नहुने, विद्यालय, अभिभावक र समुदायको साझा जिम्मेवारी रहेको सन्देश दिएको छ।

यस्ता कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको संवादको संस्कार हो। लोकतन्त्र केवल मतदानमा सीमित हुँदैन, प्रश्न गर्ने र जवाफदेहिता खोज्ने संस्कृतिमा पनि आधारित हुन्छ। जब विद्यालयका विद्यार्थीहरूले आफ्ना जनप्रतिनिधिसँग निडर भएर प्रश्न गर्छन्, त्यहाँबाट जिम्मेवार नागरिक निर्माणको प्रक्रिया सुरु हुन्छ।
शिवराज–३ मा सम्पन्न यो कार्यक्रमले एउटा सकारात्मक सन्देश दिएको छ । आजका विद्यार्थी केवल पाठ्यपुस्तकका पाठ पढिरहेका छैनन्, उनीहरू समाज, विकास र आफ्नो भविष्यबारे पनि सोच्न थालेका छन्। अब उनीहरूका प्रश्नको उत्तर भाषणमा होइन, काममा देखिनुपर्छ। किनकि विद्यार्थीहरूले सोधेका प्रश्नहरू केवल कार्यक्रमका लागि थिएनन्, ती भोलिको शिक्षाको दिशाबारेका प्रश्न थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ