चन्द्रौटा शान्ति र भाइचाराको उदाहरण

चन्द्रौटा शान्ति र भाइचाराको उदाहरण

चन्द्रौटा, कपिलवस्तु —

देशका विभिन्न भागमा आगजनी र लुटपाटका घटनाले सामान्य जनजीवन अस्तव्यस्त बनाइरहेको बेला, कपिलवस्तुको चन्द्रौटा शहरले भने शान्तिपूर्ण आन्दोलन र आपसी सद्भावको अद्भुत उदाहरण प्रस्तुत गरेको छ । यहाँका स्थानीय नागरिक, सामाजिक अभियन्ता र पत्रकारहरूले “शान्ति, सद्भाव र भाइचारा”लाई पहिलो प्राथमिकता दिँदै तनावपूर्ण अवस्थालाई संयमता र संवादद्वारा सामना गरेका छन् ।

स्थानीय पत्रकार चिन्ता परियार, जसलाई समुदायले सदैव निष्ठावान र विश्वसनीय सूचनाको स्रोतका रूपमा चिन्छ, यो आन्दोलनको अग्रपंक्तिमा उनि रहे। पत्रकार राजु खराल , शनिउल्लाह धोवी , नवराज पौडेलका साथमा स्थानीय युवाहरु सन्तोष चौधरी , अमर पौडेल , राकेशजङ्ग रायमाझी , भुवन पौडेल , रहिस खान उत्तम चौधरी लगाएतले बारम्बार जनतालाई हिंसा होइन, शान्तिपूर्ण माध्यमबाट आफ्ना माग प्रस्तुत गर्न आह्वान गरे। परियारको पहलमा आयोजित सचेतना र्‍यालीमा विभिन्न जाति, धर्म र पृष्ठभूमिका नागरिक एकै आवाजमा बोले — “हाम्रो शहर भाइचाराको प्रतीक हो।”

“हामी हुलदंगा र आगजनीबाट कहिल्यै फाइदा पाउँदैनौं। शान्ति र आपसी विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” परियारले र्‍यालीमा सम्बोधन गर्दै भने। उनका अनुसार चन्द्रौटाको सांस्कृतिक विविधता र साझा पहिचान नै यस शहरलाई विशेष बनाउने तत्व हुन्।

स्थानीय व्यवसायी र बुढापाका बासिन्दाले समेत चन्द्रौटाको यो व्यवहारलाई गर्वको विषय माने । उनीहरुले भने “हामीले लुटपाट र आगजनीको खबर देशका विभिन्न भागबाट सुन्दै आएका थियौं। तर हाम्रो शहरका पत्रकार र युवाहरूले संयमता अपनाउन आग्रह गरेपछि स्थिति पूर्ण शान्त रह्यो।”

यस आन्दोलनमा सहभागी युवती संगीता बिश्वकर्माका अनुसार, “पत्रकार चिन्ता परियारले बारम्बार हामीलाई सम्झाउनुभयो — माग राख्ने तरिका हिंसा होइन, संवाद हो। यही सोचले हामीलाई एकताबद्ध गर्‍यो।”

चन्द्रौटाको यो संयमित प्रदर्शनले कपिलवस्तु मात्र होइन, देशभरका समुदायका लागि पनि एउटा उदाहरण पेश गरेको छ। समाजशास्त्रीहरूको धारणा छ कि, जब समुदायका प्रभावशाली व्यक्तिहरू  हिंसालाई अस्वीकार गरेर सद्भावलाई प्राथमिकता दिन्छन्, तब संकटका बेला पनि शहरहरू सुरक्षित रहन सक्छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ