पहिलो सहभागितामै तीन पदक, नेपाली करातेको स्तर उकासिएको देवकोटाको भनाइ ।।
नवराज पौडेल कपिलवस्तु ,
अष्ट्रेलियाको प्रतिष्ठित NSW (न्यू साउथ वेल्स) स्टेट अल स्टाइल कराँते च्याम्पियनसिप २०२६ मा एभरेस्ट मार्शल आट्र्स एकेडेमी ले ऐतिहासिक सफलता हासिल गरेको नेपाल कराते महासंघ राष्ट्रिय रेफ्री कमिसनका सचिव कृष्णप्रसाद देवकोटा जानकारी ले दिनुभएको छ।
देवकोटाका अनुसार, प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको एकेडेमीले दुई स्वर्ण र एक रजत पदक जित्दै उल्लेखनीय उपलब्धि हासिल गरेको हो, जुन विदेशमा नेपाली करातेको उन्नत स्तरको स्पष्ट संकेत भएको उहाँले बताउनुभयो।
उहाँका अनुसार, एकेडेमीका मुख्य प्रशिक्षक मुकुन्द्र महर्जन ले मेन्स भेट्रान (३०–४० वर्ष) समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्नुभएको छ। त्यसैगरी, सिनियर महिला ७५ केजी तौल समूहमा लक्ष्मी भट्ट ले अर्को स्वर्ण पदक जित्दै टोलीको गौरव बढाउनुभएको छ। उदीयमान खेलाडी आयत महर्जन ले ८–९ वर्ष उमेर समूहको जुनियर विधामा कडा प्रतिस्पर्धाबीच रजत पदक जित्दै भविष्यको सम्भावनाशील खेलाडीका रूपमा आफूलाई स्थापित गर्नुभएको देवकोटाले उल्लेख गर्नुभयो।
देवकोटाले छोटो समयमै एनएसडब्लु क्षेत्रमा एकेडेमीले देखाएको प्रगति प्रशंसनीय रहेको भन्दै प्रशिक्षक तथा खेलाडीहरूको अनुशासन, निरन्तर अभ्यास र समर्पणले यस्तो उपलब्धि सम्भव भएको धारणा व्यक्त गर्नुभयो। उहाँले यो सफलता नेपाली मार्शल आर्ट्सका लागि गौरवको विषय भएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूको उपस्थिति अझ बलियो बन्दै गएको सन्देश दिएको बताउनुभयो।
पहिलो सहभागितामै तीन पदक हात पार्नुले विदेशमा नेपाली करातेको स्तर उकासिँदै गएको स्पष्ट देखिएको देवकोटाको भनाइ छ। साथै, आगामी दिनमा अझ ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि यस्तै उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गर्दै उहाँले सम्पूर्ण खेलाडी र प्रशिक्षकलाई बधाई तथा शुभकामना दिनुभएको छ।














