भैलोको कमाइले फेरियो मगर टोलको मुहार, सुरक्षाका लागि सीसी क्यामेरा जडान ।।
नवराज पौडेल कपिलवस्तु ।
चाडपर्वमा गुञ्जिने भैलोका गीत, नाच र रमाइलो प्रायः पर्व सकिएसँगै सेलाउँछन् । तर, शिवराज नगरपालिका–३ खरेन्द्रपुरको मगर टोलमा यस वर्ष भैलोको उत्साहले पर्वपछि पनि निरन्तरता पाएको छ । यहाँ भैलोबाट संकलित रकमलाई सामुदायिक हितमा खर्च गर्दै टोलको सुरक्षा र पूर्वाधार विकाससँग जोडिएको छ ।
बाग्लुङ सेवा समाजको आयोजनामा सञ्चालन गरिएको भैलो कार्यक्रमबाट संकलित रकम र मगर टोल आमा समूहको आर्थिक सहयोगमा टोलमा चारवटा सीसी क्यामेरा र १८ वटा सडक बत्ती जडान गरिएको छ । करिब १ लाख २० हजार रुपैयाँको लागतमा सम्पन्न यो कामले टोलको सुरक्षा व्यवस्था मजबुत बनाउनुका साथै रातिको समयमा आवतजावत सहज बनाउने जनाइएको छ ।
भैलो कार्यक्रमबाट १ लाख ७ हजार ५३० रुपैयाँ संकलन भएको समाजका संयोजक हिमाल अदैले जानकारी दिनुभयो । सडक बत्ती र सीसी क्यामेरा जडानका क्रममा आर्थिक अभाव नहोस् र योजना अधुरो नरहोस् भन्ने उद्देश्यले मगर टोल आमा समूहले थप ५० हजार रुपैयाँ सहयोग गरेको थियो । स्थानीयको सामूहिक प्रयास र सहकार्यबाट योजना सम्पन्न भएको अदैले बताउनु भयो ।
यो अभियान एकै वर्षमा जन्मिएको भने होइन । यसको इतिहास झन्डै दुई दशक पुरानो सामाजिक एकतासँग जोडिएको छ । २०६१/६२ सालमा प्रेमबहादुर भण्डारी (ढिक बोटे झाँक्री) को पहलमा स्वर्गीय हर्कबहादुर अदै, ससिमाया अदै र स्व.हुमबहादुर भण्डारीलगायतको सहभागितामा मगर टोल समाज गठन गरिएको थियो । त्यतिबेला समाजले हरेक वर्ष समिति गठन गरी भैलो खेल्ने र त्यसबाट संकलित रकमले क्याटरिङ प्रयोजनका सामग्री खरिद गर्ने अभ्यास सुरु गरेको थियो । ।
समयसँगै समाजको सक्रियता कमजोर हुँदै गयो । २०७४/७५ सालपछि विभिन्न कारणले भैलो कार्यक्रम नियमित हुन सकेन । २०७९ सालमा मात्रै कार्यक्रम सञ्चालन भएको थियो । भैलो रोकिएपछि समाजको घरभाडा व्यवस्थापनका लागि घरधुरीबाट रकम संकलन गर्नुपर्ने अवस्था आयो । यसले पुरानो सामाजिक अभियानलाई निरन्तरता दिन नयाँ पहलको आवश्यकता महसुस गरायो । अग्रजहरूले सुरु गरेको अभियानलाई पुनर्जीवन दिने र समाजलाई थप व्यवस्थित, सक्षम तथा सबल बनाउने उद्देश्यसहित यस वर्ष हिमाल अदैको संयोजकत्वमा बाग्लुङ सेवा समाज गठन गरियो । समाजको कोषाध्यक्षमा मानबहादुर अदैलाई जिम्मेवारी दिइएको छ भने मानबहादुर पुनको पनि सहभागिता रहेको छ । भीमबहादुर पुन, पुनु भण्डारी, शेरबहादुर भण्डारी र तुलबहादुर अदै अभिभावकका रूपमा जोडिएका छन् ।
समाजले २०८३ सालमा भैलो कार्यक्रमलाई पुनः निरन्तरता दिँदै संकलित रकमलाई सामुदायिक आवश्यकतामा खर्च गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार टोलको सुरक्षा र उज्यालो व्यवस्थापनलाई प्राथमिकतामा राखेर सीसी क्यामेरा तथा सडक बत्ती जडान गरिएको हो ।
चारवटा सीसी क्यामेराले टोलका गतिविधि निगरानी गर्न सहयोग पुर्याउनेछन् भने १८ वटा सडक बत्तीले रातिको समयमा हुने आवतजावतलाई सहज बनाउनेछन् । यसले सम्भावित सुरक्षा चुनौती न्यूनीकरण गर्न र स्थानीयमा सुरक्षित वातावरणको अनुभूति बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
भैलोको परम्परालाई सामाजिक सेवासँग जोड्दै खरेन्द्रपुरको मगर टोलले एउटा सन्देश दिएको छ—समुदाय परिवर्तन गर्न सधैं ठूलो बजेट र बाह्य सहयोग आवश्यक पर्दैन, आपसी विश्वास, एकता र साझा प्रयास भए आफ्नै स्रोतबाट पनि उदाहरणीय काम गर्न सकिन्छ ।
झन्डै दुई दशकअघि अग्रजहरूले रोपेको सामाजिक एकताको बीउलाई नयाँ पुस्ताले फेरि हुर्काउने प्रयास गरेको छ । भैलोबाट उठेको रकमले टोलमा उज्यालो थपिएको छ भने सीसी क्यामेराले सुरक्षाको नयाँ आधार तयार गरेको छ । यस अर्थमा मगर टोलको भैलो यस वर्ष मनोरञ्जनमा मात्र सीमित रहेन, सामुदायिक विकासको अभियानसमेत बन्यो ।
कार्यक्रमलाई सफल बनाउन समय, श्रम र आर्थिक सहयोग गर्ने सम्पूर्णप्रति बाग्लुङ सेवा समाजले आभार व्यक्त गरेको छ ।














