कपिलवस्तु ।
कपिलवस्तुमा तिहारको अवसरमा खेलिने देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना जारी गर्दै देउसीभैलो, भजनकीर्तन, नाचगान तथा अन्य सांस्कृतिक कार्यक्रम राति ९ बजेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको हो।
प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीद्वारा हस्ताक्षरित सूचनामा चाडपर्वलाई मर्यादित, अनुशासित तथा शान्तिपूर्ण वातावरणमा मनाउन आग्रह गरिएको छ। प्रशासनले चाडपर्वका नाममा डिजे साउन्ड बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। साथै, अत्यधिक ध्वनि उत्पन्न गर्ने साउन्ड सिस्टम तथा अन्य ध्वनि प्रदूषणजन्य उपकरणको प्रयोगसमेत पूर्ण रूपमा निषेध गरिएको छ। त्यस्तै, प्रशासनले कात्तिक २५ गते भाइटीकाको दिन मदिराजन्य पदार्थको सेवन तथा बिक्रीवितरणमा रोक लगाएको छ। मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने, अशान्ति सिर्जना गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि नगर्नसमेत सचेत गराइएको छ।
तिहार तथा छठ पर्वका अवसरमा जुवातास, सट्टेबाजी, बाजीलगायत कानुनले निषेध गरेका गतिविधि सञ्चालन गर्न तथा पटका, आतसबाजी र अन्य विस्फोटक पदार्थको प्रयोग, बिक्रीवितरण एवं ओसारपसार गर्नसमेत रोक लगाइएको छ। त्यसैगरी, धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सामाजिक सञ्जालमार्फत कुनै पनि जातजाति, धर्म वा समुदायबीच द्वेष फैलाउने अभिव्यक्ति तथा सामग्री प्रकाशन वा प्रसारण नगर्न प्रशासनले आग्रह गरेको छ।
चाडपर्वका अवसरमा स्थापना गरिएका देवीदेवताका मूर्ति तथा प्रतिमाको विसर्जन सुरक्षा निकायसँगको समन्वयमा निर्धारित रुट र समयतालिकाअनुसार गर्नुपर्ने सूचनामा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयले जारी निर्देशनको उल्लङ्घन गरी निषेधित गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै, तिहार तथा छठ पर्वलाई सभ्य, सुरक्षित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सम्पूर्ण जिल्लावासीलाई सहयोग र समन्वयका लागि आग्रह गरेको छ।














