‘मुहान संरक्षण गर्न नसके देश मरुभूमि बन्छ’ : पूर्वमन्त्री केसी
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री अर्जुनकुमार केसीले नदीका मुहान संरक्षण गर्न नसके देश मरुभूमिमा परिणत हुने बताएका छन्। शिवराज नगरपालिका–३ स्थित कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले वन, जल र वातावरणको संरक्षणमा जोड दिएका हुन्।
वन, जल र वातावरण एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै केसीले वन विनाशका कारण पानीका स्रोत सुक्दै जाने र वातावरणीय सन्तुलन बिग्रने बताए। उनले वन संरक्षणसँगै नदीका मुहान, तालतलैया र जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। जीवनचक्र सञ्चालनका लागि पानीको स्रोत महत्त्वपूर्ण रहेको भन्दै उनले वनको उपयोग र संरक्षणबीच सन्तुलन कायम गर्नुपर्ने बताए।
कार्यक्रममा डिभिजन वन कार्यालय (गौतमबुद्ध) चन्द्रौटाका डिभिजनल वन अधिकृत गणेशबहादुर खड्काले वनलाई काठ र दाउराको स्रोतका रूपमा मात्र हेर्न नहुने बताए। वनले मानव जीवन, वन्यजन्तु र जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले वन संरक्षणमा उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
साधारणसभामा समूहका अध्यक्ष गंगेशनाथ तिवारीले सात करोड १५ लाख रुपैयाँभन्दा बढीको आगामी बजेट प्रस्तुत गरे। उनले स्थानीय समुदायसँग सहकार्य गर्दै सहुलियत मूल्यमा काठदाउरा उपलब्ध गराउनुका साथै वन संरक्षण, सामुदायिक हित र विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए।

समूहको प्रतिवेदनअनुसार कपिलवस्तुका शिवराज, बुद्धभूमि, कृष्णनगर र महाराजगञ्ज नगरपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका २२ वडाका एक लाख २२ हजार ३९३ उपभोक्ता समूहसँग आबद्ध छन्। अध्यक्ष तिवारीले स्थानीय स्रोतसाधनको संरक्षण र सदुपयोग गर्दै उपभोक्तालाई वनसँग जोडेर आयआर्जनका कार्यक्रममा लगानी गर्ने प्रतिबद्धता जनाए।
सोही अवसरमा वरिष्ठ वन अधिकृत पहलमान सेर्मुजा मगरलाई सम्मानपत्रसहित बिदाइ गरिएको थियो। कार्यक्रममा तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जयप्रकाश पाण्डे, गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जोवद आलम खान र शिवराज नगरपालिका–३ का वडाध्यक्ष टेकलाल सापकोटालगायतले वन संरक्षण र सामुदायिक सहभागिताबारे धारणा राखेका थिए।














