कक्षा १२ सम्म निःशुल्क शिक्षा, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम र उच्च शिक्षाका लागि छात्रवृत्ति; नगरप्रमुख अजय थापाको शैक्षिक अभियानले पायो प्रदेशस्तरीय पहिचान
नवराज पौडेल, कपिलवस्तु
शिक्षामा गरिएको लगानीको प्रतिफल तत्काल देखिँदैन। यसको परिणाम विद्यार्थीको सिकाइ, विद्यालयको गुणस्तर र समाजको भविष्यमा देखिन्छ। कुनै नयाँ योजना अघि सार्दा प्रश्न उठ्नु स्वाभाविक हो। तर समयक्रममा त्यसको कार्यान्वयन र उपलब्धिले योजनाको औचित्य पुष्टि गर्न सक्छ। कपिलवस्तुको शिवराज नगरपालिकाले शिक्षा क्षेत्रमा अघि सारेका कार्यक्रम र पछिल्लो समय प्राप्त गरेको प्रदेशस्तरीय सम्मानलाई यही सन्दर्भमा हेर्न सकिन्छ।
लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये शिवराज नगरपालिका शिक्षा क्षेत्रको विकास, शैक्षिक गुणस्तर सुधार तथा विद्यालय शिक्षामा पुर्याएको योगदानका आधारमा प्रदेशकै सर्वोत्कृष्ट नगरपालिकाका रूपमा सम्मानित भएको छ। प्रिन्सिपल एसोसिएसन अफ नेपाल (PAN) द्वारा आयोजित तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ को अवसरमा पूर्वराष्ट्रपति डा. रामवरण यादवले नगरपालिकालाई सम्मान प्रदान गरेका हुन्।
यो सम्मान एउटा औपचारिक कार्यक्रमको उपलब्धिमा मात्र सीमित छैन। स्थानीय सरकारले शिक्षालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम कार्यान्वयन गर्दा त्यसले राष्ट्रियस्तरमा समेत पहिचान बनाउन सक्छ भन्ने सन्देश यसले दिएको छ।

निर्वाचनको प्रतिबद्धतादेखि निःशुल्क शिक्षासम्म
२०७९ सालको स्थानीय तह निर्वाचनबाट नगरप्रमुखमा निर्वाचित भएपछि अजय थापाले शिक्षालाई आफ्नो प्रमुख प्राथमिकतामा राखे। निर्वाचनका क्रममा अघि सारेको कक्षा १२ सम्मको निःशुल्क शिक्षाको प्रतिबद्धतालाई उनले निर्वाचित भएपछि कार्यान्वयनमा लैजाने निर्णय गरे। आर्थिक वर्ष २०८०/८१ देखि नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गरियो।
यस कार्यक्रमका लागि नगरपालिकाले पाँच करोड २४ लाख ५९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। आर्थिक अभावका कारण विद्यार्थीले बीचमै पढाइ छाड्नुपर्ने अवस्था अन्त्य गर्ने र सबै बालबालिकालाई शिक्षाको समान अवसर उपलब्ध गराउने यसको मुख्य उद्देश्य थियो।

आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतार्ने क्रममा नगरप्रमुख थापाले आफ्नै छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर अभियानको सुरुवातसमेत गरेका थिए। जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन प्रोत्साहित गर्ने नीति पनि अघि सारियो। यसले सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउने प्रयासलाई थप बल पुर्याएको थियो।
तर निःशुल्क शिक्षाको निर्णय सहजै स्वीकार्य भएन। कार्यक्रमको आर्थिक भार, कार्यान्वयनको सम्भाव्यता र दीर्घकालीन निरन्तरताबारे प्रश्न उठे। स्थानीयस्तरमा कतिपयले यसलाई लोकप्रियता हासिल गर्ने राजनीतिक प्रयासका रूपमा टिप्पणी गरे। चोकचौराहामा यसको प्रभावकारिताबारे आलोचना र बहस भइरहे।तर नगरपालिकाले कार्यक्रमलाई कार्यान्वयनमा लैजाने बाटो रोज्यो। शिक्षा क्षेत्रमा गरिएको लगानीलाई तत्कालको खर्चभन्दा भविष्य निर्माणको आधारका रूपमा व्याख्या गर्दै अभियान अघि बढाइयो।
सामुदायिक विद्यालयमै अंग्रेजी माध्यम
शिवराजको शैक्षिक सुधारको प्रयास निःशुल्क शिक्षामा मात्र सीमित छैन। सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै निजी विद्यालयप्रतिको आकर्षण घटाउने उद्देश्यले नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरेको छ।
यसको लाभ आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाले समेत पाउने अवसर पाएका छन्। पहिले अंग्रेजी माध्यममा पढाउन चाहने अभिभावकले निजी विद्यालय रोज्नुपर्ने अवस्था थियो। निजी विद्यालयको शुल्क तिर्न नसक्ने परिवारका बालबालिकाका लागि त्यो अवसर सहज थिएन।
तर सामुदायिक विद्यालयमै अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि आर्थिक हैसियत कमजोर भएका परिवारका छोराछोरीले पनि अंग्रेजी माध्यमको शिक्षामा पहुँच पाएका छन्। यसले शिक्षा धनी र गरिबबीच विभाजित हुनु हुँदैन भन्ने मान्यतालाई व्यवहारमा उतार्ने प्रयास गरेको छ।
सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाइ सञ्चालन गर्नुको उद्देश्य भाषा परिवर्तन मात्र होइन, विद्यालयको शैक्षिक वातावरण सुधार गर्नु र अभिभावकको विश्वास जित्नु पनि हो। यसको वास्तविक प्रभाव भने विद्यार्थीको सिकाइ उपलब्धि, अंग्रेजी भाषाको दक्षता र समग्र शैक्षिक गुणस्तरमा देखिनुपर्नेछ।
कक्षा १२ पछि पनि शिक्षाको बाटो
शिवराज नगरपालिकाभित्र कक्षा १२ सम्मको अध्ययनपछि उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि पर्याप्त अवसरको अभाव अर्को चुनौतीका रूपमा रहँदै आएको थियो। उच्च शिक्षाका लागि अन्यत्र जानुपर्ने बाध्यता र त्यससँग जोडिने आर्थिक खर्चले विशेषगरी विपन्न परिवारका विद्यार्थीलाई थप कठिनाइ हुने गरेको थियो।
यही समस्यालाई सम्बोधन गर्न नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ। कक्षा १२ उत्तीर्ण गरेपछि पनि आर्थिक अभावका कारण विद्यार्थीको अध्ययन रोकिन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।
यसले नगरपालिकाको शैक्षिक अभियानलाई विद्यालय तहमा मात्र सीमित नराखी उच्च शिक्षासम्म विस्तार गर्ने प्रयास गरेको छ। निःशुल्क विद्यालय शिक्षा, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम र उच्च शिक्षाका लागि छात्रवृत्ति—यी कार्यक्रमले शिक्षामा पहुँच विस्तार गर्ने नगरपालिकाको नीतिलाई जोडेको देखिन्छ।
नगरपालिकाले शिक्षा क्षेत्रमा समान अवसर विस्तार गर्ने उद्देश्यले ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई जनही २५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको छ भने नेपाल आदर्श र त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा करिब ५० जना विद्यार्थी छात्रवृत्तिमा अध्ययनरत छन्। त्यसैगरी नगरभित्रका निजी तथा अंग्रेजी माध्यमका विद्यालयमा ५५१ जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरी निःशुल्क अध्ययन गर्ने अवसर प्रदान गरिएको छ।

Oplus_131072
आलोचनाबीच प्राप्त सम्मान
निःशुल्क शिक्षाको निर्णय कार्यान्वयनमा लैजाँदा उठेका प्रश्न र आलोचनाका बीच अहिले शिवराजले शिक्षा क्षेत्रकै योगदानका आधारमा प्रदेशस्तरीय सम्मान प्राप्त गरेको छ। यो उपलब्धिले नगरपालिकाले अघि सारेका शैक्षिक कार्यक्रमलाई थप चर्चामा ल्याएको छ।
प्रिन्सिपल एसोसिएसन अफ नेपालद्वारा आयोजित तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ मा पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट सम्मान ग्रहण गर्न नगरप्रमुख अजय थापा, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे र शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्मालगायत सहभागी थिए।
लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये शिवराजलाई सर्वोत्कृष्ट नगरपालिकाका रूपमा सम्मानित गरिनु संस्थागत उपलब्धि हो। यसमा नगरपालिकाको नीति, शिक्षा शाखाको कार्यसम्पादन, शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक र समुदायको भूमिका जोडिएको छ।
यद्यपि एउटा सम्मान प्राप्त हुँदैमा शैक्षिक क्षेत्रका सबै समस्या समाधान भएका छन् भन्ने होइन। विद्यालयमा विषयगत शिक्षकको उपलब्धता, विद्यार्थीको सिकाइ उपलब्धि, भौतिक पूर्वाधार, अंग्रेजी माध्यमको प्रभावकारिता र उच्च शिक्षामा विद्यार्थीको निरन्तरताजस्ता विषयमा अझै काम गर्नुपर्ने आवश्यकता छ। निःशुल्क शिक्षाको वास्तविक सफलता विद्यार्थीले प्राप्त गर्ने गुणस्तरीय शिक्षा र त्यसले उनीहरूको भविष्यमा पार्ने प्रभावबाट मापन हुनेछ।
सम्मानसँगै थपिएको जिम्मेवारी
शिक्षा कुनै एक कार्यकाल वा जनप्रतिनिधिको राजनीतिक उपलब्धिमा मात्र सीमित हुने विषय होइन। यसको प्रभाव पुस्तौँसम्म रहन्छ। त्यसैले शिवराजले प्राप्त गरेको सम्मानलाई विगतका प्रयासको कदरका रूपमा मात्र नभई आगामी दिनमा शैक्षिक गुणस्तर थप सुधार गर्ने जिम्मेवारीका रूपमा पनि लिनुपर्ने देखिन्छ।
हिजो कक्षा १२ सम्म निःशुल्क शिक्षा सम्भव छ कि छैन भन्ने प्रश्न उठिरहेका बेला आज शिवराज प्रदेशस्तरीय सम्मानबाट सम्मानित भएको छ। सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाइ र उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्थाले नगरपालिकाको शिक्षा अभियानलाई थप फराकिलो बनाएको छ।
अन्ततः कुनै पनि नेतृत्वको मूल्याङ्कन प्रशंसा र आलोचनाले मात्र हुँदैन, उसले अघि सारेका नीति कति कार्यान्वयन भए र त्यसबाट नागरिकले कति लाभ पाए भन्ने कुराले हुन्छ। शिवराजको शैक्षिक अभियानले अहिले प्राप्त गरेको सम्मानले एउटा महत्वपूर्ण प्रश्नको जवाफ खोज्न प्रेरित गरेको छ—शिक्षामा गरिएको लगानीलाई कसरी विद्यार्थीको उज्ज्वल भविष्यसँग जोड्ने?शिवराजका लागि यो सम्मान उपलब्धि हो, तर त्यसको वास्तविक सफलता सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने हरेक बालबालिकाको अनुहारमा देखिनेछ।














