कपिलवस्तुमा जुवा खेल्दै गर्दा नगदसहित ११ जना पक्राउ
चन्द्रौटा ।
कपिलवस्तुमा छापा हानेर २ लाख २० हजार ६ सय ९० रुपैयाँ नगदसहित ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बाणगंगा नगरपालिका९६ बनकसियास्थित जनप्रिय बालुवा प्रशोधन उद्योगमा प्रहरीले शुक्रवार मध्यरातमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए ।
प्रहरीका अनुसार लामो समयदेखि जुवा सञ्चालन भइरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय पिपराको संयुक्त टोलीले जुवाको खालमा छापा मारी नगदसहित ६ बुक तास १५ वटा मोबाइलसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा बाणगंगा नगरपालिका-६ बनकसियाका ४० वर्षीय ज्ञानु चौधरी, बाणगंगा-२ पिपराका ३६ वर्षीय शंकर अर्याल, कपिलवस्तु नगरपालिका-९ कुस्माका ४१ वर्षीय अमृत पौडेल, बाणगंगा-५ कोपवाका ३३ वर्षीय जीवन विश्वकर्मा, बाणगंगा-६ भक्लापुरका ३१ वर्षीय चेतप्रसाद अर्याल, बाणगंगा-८ बोडगाउँका २२ वर्षीय अमित आचार्य रहेका छन् ।
यस्तै बाणगंगा-८ धोडेटोलका ३१ वर्षीय गणेश विक, बाणगंगा-११ हथौसाका २८ वर्षीय ईरफान अली, कपिलवस्तु नगरपालिका-९ कुस्माका ३१ वर्षीय मोहन सुनार, बाणगंगा-८ बोडगाउँका ३६ वर्षीय हिमाल पौडेल र बाणगंगा-६ भक्लापुरका २८ वर्षीय राजेश घर्ती रहेका छन् । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














