शिवराज–३ मा कांग्रेसलाई धक्का, शंकर मल्लसहित ३० जना रास्वपामा
कपिलवस्तु —
कपिलवस्तुको शिवराज नगरपालिका–३ मा नेपाली कांग्रेसलाई धक्का लागेको छ। कांग्रेसमा लामो समयदेखि राजनीति गर्दै आएका युवा नेता शंकर मल्लसहित करिब ३० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

रास्वपा शिवराज नगर समितिको संयोजनमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा मल्लसहितका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन्।
करिब ४० वर्षदेखि नेपाली कांग्रेसमा रहेर राजनीति गर्दै आएका मल्लसहितका व्यक्तिहरू रास्वपामा प्रवेश गरेपछि शिवराज–३ को स्थानीय राजनीतिमा नयाँ तरंग पैदा भएको छ। कांग्रेसको राजनीतिमा लामो समय बिताएका नेता तथा कार्यकर्ताले पार्टी परिवर्तन गरेपछि स्थानीयस्तरमा रास्वपाको संगठन विस्तारले थप गति लिने अपेक्षा गरिएको छ।
विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रम वडा नम्बर ३ का सभापति केशर महतरा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रास्वपा शिवराज नगर सभापति बालकृष्ण पाण्डेसहित पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रमलाई रास्वपाले संगठन विस्तार र जनाधार बलियो बनाउने अवसरका रूपमा लिएको छ। लामो समय कांग्रेसमा आबद्ध रहेका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेपछि शिवराज–३ को स्थानीय राजनीतिक समीकरणमा यसको प्रभाव कस्तो पर्छ भन्ने चासो बढेको छ।















