तनहुँ –
तनहुँमा आज बिहान भएकाे बस दुर्घटनाका घाइतेहरूकाे उद्धारका लागि नेपाली सेनाले हेलिकप्टर पठाएकाे छ । मेडिकल टिमसहितकाे टाेली हेलिकप्टरमार्फत दुर्घटनास्थलतर्फ प्रस्थान गरेकाे सेनाले जनाएकाे छ । घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाण्डाै ल्याउने तयारी छ ।
घटनास्थलबाट अहिलेसम्म १४ जनाकाे शव निकालिएकाे र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेकाे छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाण्डौका लागि छुटेको भारतीय नम्बर (यूपी ५३ एफटी ७६२३) को बस मर्स्याङ्दी नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा रहेको छ । बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ ।
घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्छ ।













