शिवराजमा स्पा–डान्सबार तत्काल नबन्द गर्न अन्तरिम आदेश

शिवराज नगरपालिकाले बन्द गराउन खोजेका स्पा तथा डान्सबार सञ्चालनको विषयमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले व्यवसायीको पक्षमा अन्तरिम आदेश जारी गरेको छ।
नगरपालिकाले गत भदौ २२ गते पालिकाभित्र सञ्चालनमा रहेका स्पा तथा डान्सबारलाई सात दिनभित्र बन्द गर्न सूचना जारी गरेको थियो। उक्त सूचनाविरुद्ध व्यवसायीहरूले उच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय विपुल न्यौपाने र निशा बाँनियाको संयुक्त इजलासले व्यवसाय बन्द गराउनुअघि सम्बन्धित व्यवसायीलाई आफ्नो प्रमाण पेस गर्ने र आफ्नो भनाइ राख्ने उचित अवसर दिनुपर्ने आदेश गरेको हो।
अदालतको आदेशमा व्यवसाय सञ्चालन वैध भए–नभएको तथा तोकिएको मापदण्ड पालना भए–नभएको विषयमा आवश्यक प्रक्रिया पूरा नगरी व्यवसाय बन्द गराउने कार्य नगर्न भनिएको छ।
व्यवसायीहरूले नगरपालिकाको सूचनापछि आफूहरूमाथि एकपक्षीय रूपमा कारबाही गर्न खोजिएको भन्दै अदालतको ढोका ढकढक्याएका थिए। अदालतको अन्तरिम आदेशसँगै उनीहरूलाई तत्काल राहत मिलेको छ।
अदालतले मुद्दाको टुंगो नलागेसम्मका लागि विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो। आदेशपछि शिवराजमा बन्द गराइएका स्पा तथा डान्सबार व्यवसाय पुनः सञ्चालनको बाटो खुलेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ